शीर्षकहरू

औषधि उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता

औषधि उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता

काठमाडौं । मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ । दक्षिण कोरियाको विश्व प्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको कम्पनी हो । 

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी वृद्धि गर्न कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो । सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहबीच हस्ताक्षर भएको छ ।   

 दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।
नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मास्युटिकल्सको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरु उत्पादन गर्ने कम्पनी भएको दावी गरिएको छ ।  हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशिल पौडेलले जानकारी दिए ।

मिरा बायोटेकलाई पनि आईपीओ निष्काशन अगाडी पुँजीवृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तिय व्यवस्थापकिय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ । 

भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।