शीर्षकहरू

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब ३१ करोड बीमाशुल्क संकलन गरे

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब ३१ करोड बीमाशुल्क संकलन गरे

काठमाडौ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले १५ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको दुई लाख ४१ हजार ३१४ वटा बीमा पोलिसी जारी गरेका छन् । यो रकम चारवटा लघुबीमा कम्पनीले संकलन गरेको बीमाशुल्क सहित हो । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन महिना चार लघुबीमकहरुले पाँच करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको २० हजार २४३ वटा लघु बीमा पोलिसी जारी गरेका छन् ।

साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै ६३ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनीले ३६ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ ।  

चार लघुबीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी एक करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एक करोड ३६ लाख, स्टार माइक्रो इन्स्योरेन्सले एक करोड १८ लाख र ट्रस्ट माइक्रो इन्स्योरेनन्सले एक करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

साउन महिनामा बीमा कम्पनीहरुले सम्पति बीमाबाट मात्रै एक अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सामुन्द्रिक बीमा वापत कम्पनीहरुले २९ करोड ४४ लाख रुपैयाँ संकलन गरेका छन् । हवाई बीमा वापत पाँच करोड १८ लाख, मोटर बीमा वापत एक अर्ब २२ करोड, इन्जिनियरिङग बीमा वापत ५० करोड २८ लाख, कृषि बीमा वापत २० करोड १९ लाख, लघु बीमा वापत पाँच करोड ३१ लाख र विविध बीमा वापत कम्पनीहरुले ५५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

बाग्मती प्रदेशबाट सबैभन्दा धेरै दुई अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ । कोशी प्रदेशबाट ३३ करोड ६९ लाख, मधेश प्रदेशबाट ३० करोड ३० लाख, गण्डकी प्रदेशबाट २३ करोड ३८ लाख, लुम्बिनी प्रदेशबाट ३५ करोड ८ लाख, कर्णाली प्रदेशबाट दुई करोड ८९ लाख र सुदुरपश्चिम प्रदेशबाट सात करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।