शीर्षकहरू

सहकारी क्षेत्रका यी चर्चित अनुहार: जो ठगी आरोपमा जेल पुगे

सहकारी क्षेत्रका यी चर्चित अनुहार: जो ठगी आरोपमा जेल पुगे

काठमाडौं । नेपालीमा एउटा भनाइ छ ‘लोभले लाभ, लाभले विलाप’ । नेपालको सहकारी क्षेत्रमा कुनै समय ‘चम्किला तारा’ बनेका पात्रहरूमा उल्लेखित उक्ति चरितार्थ हुँदा त्यसले नेपालको सहकारी अभियान नै बदनाम हुन पुगेको छ ।  

सहकारीकै कारण सामाजिक मान, इज्जत, प्रतिष्ठा र सम्मानका साथै पर्याप्त सम्पत्ति आर्जन गरेका केही चर्चित सहकारी सञ्चालकहरू अहिले जेल जीवन बिताइरहेका छन् । सहकारीको आधारभूत मूल्य, मान्यता, सिद्धान्तलाई बेवास्ता गर्दै त्यसको विपरीत व्यवहार गरेर छोटो समयमै धनी हुने लोभका कारण अहिले उनीहरूले आर्जन गरेका सबै सामाजिक तथा भौतिक सम्पत्ति गुमाएको अवस्था छ ।  

यहाँ, त्यस्तै केही प्रतिनिधि पात्रहरूबारे चर्चा गरिएको छ । जसलाई इतिहासले नेपाली सहकारी आन्दोलनका खलपात्रका रूपमा नाम लिने प्रबल सम्भावना छ । 

जेल पुग्नेहरूमा पूर्व सांसददेखि वडाध्यक्षसम्म  

सहकारी ठगीको आरोपमा जेल पुगेकाहरू पूर्व सांसददेखि वडाध्यक्षसम्म रहेका छन् । सिभिल सहकारीमा सर्वसाधारणले गरेको अर्बौँको निक्षेप हिनामिना गरेका इच्छाराज तामाङ हाल जेलमा कैदी जीवन बिताइरहेका छन् ।उनी  पूर्व सांसद समेत हुन् ।  

धनाढ्य परिवारका नभए पनि तामाङ कुनै समय अर्बपतिकारुपमा कहलिन्थे ।  उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक रहँदै गर्दा उनले आफ्नो परिचयमा चर्चित अर्बपति व्यवसायी बनाए । सिभिल समूह, सिभिल बैंक, सिभिल सहकारी सञ्चालन गरे । सिभिल होम्स मार्फत घर/जग्गाको कारोबारमा समेत जमेका उनले सिभिल सहकारीको प्रयोग गरेर व्यवसायको यात्रा बढाए । 

उनले आकर्षक ब्याजको प्रलोभन देखाएर हजारौँ सर्वसाधारणलाई सहकारीमा पैसा जम्मा गर्न लगाए । त्यो पैसा नियम विपरीत आफ्नै कम्पनीको नाममा प्रवाह गरे । ती कम्पनीबाट भएको आम्दानीले थप व्यापार गरे । तर  सहकारीको कर्जा तिरेनन् । त्यसपछि उनको ठगीको रहस्य खुल्न थाल्यो । अनि उनी सहकारीका सबैभन्दा ठूला ठग प्रमाणित  भए र अन्ततः जेल पुगे । 

तामाङ एक्लै जेल गएनन् । उनीसँगै श्रीमती सिर्जना तामाङ, मामा ससुरा अर्थात् सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई समेत जेलको बास गराए ।

सहकारी ठगीको आरोपमा उनी २०७८ साल असोजमा पक्राउ परेका थिए । उनी विरुद्ध सिभिल सहकारीको ५ अर्ब ६७ करोड ५५ लाख बिगो माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । सिभिल सहकारीमा सर्वसाधारणले गरेको अर्बौँ निक्षेप दुरुपयोग गरेको तथा सम्पत्ति शुद्धीकरण समेतमा कसुरदार पुष्टि भएपछि उनी जेल पुगे । 

सहकारी ठगीको आरोपमा वडाध्यक्ष समेत जेल पुगेका छन् । सूर्य दर्शन र मित्र मिलन गरी दुई वटा सहकारी संस्थामा बचतकर्ताको रकम अपचलनसम्बन्धी मुद्दामा जेल चलान हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कैलाशकुमार दर्लामी जेल पुगेका हुन् ।

गितेन्द्रबाबु ‘जिबी’ राईको अगुवाइमा सञ्चालित सहकारीमा रामेछापका दर्लामी उपाध्यक्ष थिए । जिबी राई हालसम्म फरार रहेपनि उपाध्यक्ष दर्लामी र कोषाध्यक्ष रहेका ललितपुरका कुमार रम्तेलले भने जेल जीवन बिताइरहेका छन् । अर्बौँ ठगीको आरोपमा दर्लामीसहित १० जना गत पुसमा कास्की जेल चलान भएका हुन् ।   

लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहेका व्यक्ति हुन्, कृष्ण बहादुर (केबी) उप्रेती । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत रहेका उप्रेती हाल डिल्लीबजार कारागारमा छन् । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष रहेका उनी सहकारी ठगीको आरोपमा जेल पुगेका हुन् । 

उनलाई प्रहरीले गत असार १९ पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको कसुरमा मुद्दा दायर गरेको थियो । उनले सर्वसाधारणको १५ करोड ८७ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको अभियोग पत्रमा उल्लेख गरिएको छ । अदालतले उनलाई साउन १५ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।  

सहकारीको बचत रकम हिनामिनाको आरोपमा जेल पुगेका उप्रेतीले कसरी सहकारीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरे र सहकारीका आधारभूत पक्षलाई कुल्चँदै अघि बढे भन्ने विषयको अध्ययनले मात्रै पनि नेपालमा सहकारी समस्याका धेरै कुराहरू प्रष्ट हुन सक्छन् । किनकि उनले सहकारीका आधारभूत मूल्य/मान्यता नबुझेर भुल गरेका पनि होइनन् ।  

उनी तीन दशकभन्दा लामो समयदेखि सहकारी अभियानमा सक्रिय थिए । राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा सहकारीको आधारभूत मर्म बुझेका व्यक्ति उनी आफैले सञ्चालन गरेको सहकारीमा भने मनपरी गरे । र, अन्तिममा  जेल पुगे ।    

ठूला ठग पनि जेलमै  

सहकारी मार्फत अर्बौँ रकम अपचलन गरेर जेल पुगेको अर्को चर्चित नाम हो, केदारनाथ शर्मा । शिव शिखर र तुलसी सहकारीका सञ्चालक केदारनाथ शर्मा एक वर्षअघिदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा छन् ।

सहकारीमा बचत गरेको रकम उनले आफूखुसी विभिन्न कम्पनीहरूमा लगानी गरेको पाइएको छ । उनले बचतकर्ताको रकम व्यक्तिगत कम्पनीदेखि घरजग्गा व्यवसायमा लगानी गरेका थिए । जथाभाबी व्यवसायमा लगानी गरे र पछि उनी ओरियन्टल, सिभिल सहकारीभन्दा ठूलो ठगकारुपमा निस्किए ।

जब बचतको रकम अपचलन गरेको विषय बाहिर आउन थाल्यो त्यसपछि उनी भागे । जसरी अहिले जिबी राई फरार छन् । त्यसैगरि शर्मा पनि फरार त भएका थिए तर लामो समय हुन सकेनन् । उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का फन्दामा परे । 

अनुसन्धानकाक्रममा उनले अर्बौँ रकम अपचलन गरेको पुष्टि भएको छ । सहकारीमा बचतकर्ताको निक्षेप ठगी गरेको पुष्टि भएपछि २०८० भदौमा जिल्ला अदालत काठमाडौंले उनलाई नख्खु जेलमा पठाउने फैसला सुनाएको थियो । उनले सहकारीको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा दोषी ठहर भएपछि जेल चलान भएका हुन् ।

शर्माकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राज भण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल उनीभन्दा अगाडी नै जेल चलान भइसकेका थिए । 

दुई सहकारी मार्फत अर्बौँ ठगी गरेको आरोपमा सीबी (चन्द्रबहादुर) लामा जेलमा छन् । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको ऊनीमाथि आरोप छ ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनी लामो समय फरार भए । सीबी गत जेठ १८ गते चितवनबाट पक्राउ परेका थिए । 

कान्तिपुर सहकारीको तत्कालीन अध्यक्ष रहेका लामाले सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिपोर्टमा लगानी गरेको पाइएको छ । सहकारी ठगीको आरोपमा जेठमै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि त्यसयता उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा छन् ।

लामासँगै मिलेर ठगी गरेका कान्तिपुर सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पनि डिल्लीबजार कारागारमा छन् । 

यी हुन् जेल पुगेका अन्य दर्जनबढी सहकारीकर्मी 

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि जेलमा छन् । ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाईं सहकारी ठगीको आरोपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन् । 

सहकारी ठगीको आरोप लागेका सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) पनि कास्की कारागारमा छन् । सोही आरोपमा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलोपर भविश्वर अर्याल समेत कास्की कारागारमा छन् । 

नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा नख्खु जेलमा छन् । उनीमाथी पनि सहकारी ठगीको आरोप छ । सहकारीमार्फत ठगी गरेका प्राइम बहुउद्देश्यीय सहकारी संस्था पोखराका अध्यक्ष शङ्कर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेल कास्की कारागारमा नै छन् । बचतको रकम अपचलन गरेका बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ पनि त्यहीँ  छन् । सोही कारागारमा मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल पनि जेल जीवन बिताइरहेका छन् ।

कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड मानभवन, ललितपुरका अध्यक्ष, लीलाबहादुर गुरुङ (एलबी) र कृषि विकास बहुउद्देश्यीय, कुमारीपाटी, ललितपुर र कृषि विकास बचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापा सहकारी ठगी गरेर नख्खु कारागार पुगेका छन् ।  

आर्जन बचत तथा ऋण सहकारी संस्था, सामाखुसीका अध्यक्ष, दलबहादुर आले केन्द्रीय कारागारमा छन् भने सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओमप्रकाश गुरुङ भैरहवा कारागारमा सहकारी ठगीको कसुरमा थुनामा छन् ।  

केही जेल बसेर बाहिरिसके  

अब चर्चा गरौँ, अर्का सहकारी ठगको । जो सहकारी ठगीको आरोपमा जेल जीवन बिताएर बाहिर निस्किसकेका छन् । सहकारीको दश अर्ब रुपैयाँ ठगी गरेको आरोपमा सुधीर बस्नेत जेल परेका थिए । ओरेन्टल को–अपरेटिभका अध्यक्ष बस्नेत ठगीको आरोपमा २०७३ पुसमा पक्राउ परेका थिए ।  

सहकारीको निक्षेप हिनामिना अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएका थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।

सफल घरजग्गा व्यवसायी भनेर कहलिएका बस्नेत एकाएक सडकमा आए । उनको ओरालो यात्रा पनि रोचक छ । ओरेन्टल को–अपरेटिभका अध्यक्ष रहेका उनी विभिन्न स्थानमा जग्गा किनेर हाउजिङ बनाउने र जग्गा प्लटिङ गरेर बिक्री गर्ने थाले । तर, उनको व्यवसायमा मन्दी छायो । सहकारीको पैसा लगानी गरेका उनले बचतकर्ताको पैसा तिर्न सकेनन् । र, जेल जीवन बिताउन बाध्य भए ।  

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि सहकारी ठगीको आरोपमा जेल बसेका व्यक्ति हुन् । उनलाई सुप्रिम बचत तथा ऋण सहकारीका बचतकर्ताको ७८ करोड रकम हिनामिना गरेको आरोप छ ।  

पुन उक्त सहकारीका कोषाध्यक्ष हुन् । प्रहरीले गत चैत्र २ गते काठमाडौंबाट पक्राउ गरेर उनलाई रुपन्देही लगेको थियो । रुपन्देही जिल्ला अदालतले चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको थियो । उनी एक सातापछि धरौटी जम्मा गरेपछि रिहा भएका थिए ।