काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम विक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।बैंकले सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेत बोलकबोल मार्फत विक्री गर्ने जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुने बैंकले जनाएको छ । लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com मा हेर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।
सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुने बैंकले जनाएको छ ।