शीर्षकहरू

३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री

३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । शुक्रबार बुटवलमा एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक ऋण २४ खर्ब नाघेको बताउँदै अर्थतन्त्र अप्ठ्यारोमा परेको भनाइ राखे ।

रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति ठीक रहे पनि आन्तरिक उत्पादन र माग भने घटेको उनको भनाइ थियो । निस्कनै नसक्नेगरी सार्वजनिक ऋणको पासोमा नपरे पनि सेलेक्टिभ हुन जरूरी रहेको उनले बताए । हाल उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनको भनाइ थियो । उद्योगहरूबाट अहिले ४० प्रतिशत मात्रै उत्पादन भइरहेकाले अर्थतन्त्र दबाबमा परेको बताउँदै उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

'उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार छ ।  निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउछौं', उनले भने, 'अहिलेको सरकारले व्यवसायीलाई दु:ख दिने र अमर्यादित व्यवहार गर्दैन । तर गैरकानुनी व्यवसायलाई छुट भने दिन सकिन्न ।'

नेपालमा धेरै सम्भावना रहेको बताउँदै उनले यस्ता सम्भावना अन्य मुलुकमा नहुने दाबी गरे । विकसित मुलुकमा सीमित क्षेत्रमा काम गर्न सकिने भए पनि नेपालमा जलविद्युत, पर्यटन, कृषि र सेवा उद्योग सबै क्षेत्रमा ठूला ठूला सम्भावना रहेको उनको भनाइ थियो । त्यसैले युवाहरूले देश छाड्ने गल्ती गर्न नहुने उनले बताए । उनले भने, 'अहिलेको सरकार नीतिमा स्थिरता सहितको सबैभन्दा बलियो सरकार हो, यो भन्दा बलियो सरकार बन्न सक्दैन ।'