शीर्षकहरू

नेपालमा केही छैन भन्ने भाष्य गलत, जता हेर्‍यो त्यतै अवसर छ : चन्द्र ढकाल

नेपालमा केही छैन भन्ने भाष्य गलत, जता हेर्‍यो त्यतै अवसर छ : चन्द्र ढकाल
फाइल तस्वीर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा केही नभएको भन्ने गलत भाष्य स्थापित भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा जता हेर्‍यो त्यतै अवसर र सम्भावना भएको बताए ।

'अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसाबले नेगेटिभ हिसाबको मात्रै सोचाइ छ,' उनले भने, 'बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसाबले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो कि जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन ।'

नेपालमा अवसर र सम्भावना नभएको भए आफूजस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव हुने उनले बताए । अगाडि उनले भने, 'नेपालमा जता हेर्‍यो त्यतै अवसर छ । जहाँ हेर्‍यो त्यहीँ छ ।'

आफूले महासंघको जिम्मेवारी सम्हाल्दा कोरोनाका कारण अर्थतन्त्र संकुचनामा रहेको र हरेक ठाउँमा निराशा रहेकोमा करिब डेढ वर्षमा  आम नागरिकलाई आत्मविश्वास दिलाउन निजी क्षेत्रले पहल गरेको उनले बताए ।

तर नेपालमा कानुनहरू ठीक छैन र लगानीको वातावरण पनि बनेको छैन भन्ने थाहा हुँदाहुँदै तिनलाई संशोधन गर्न राज्यले तदारुकता नदेखाएको आरोप लगाए । कानुनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने लगानीका लागि राम्रो वातावरण बनाउन नसकिने उनले बताए ।