काठमाडौं । टाटा, हुण्डाई, सुजुकी, महिन्द्रा, रेनो, निसान, फोर्ड, मारुती, होण्डा, फोक्सवागनलगायतका ब्राण्डले नेपाली बजारमा लामो समय एकछत्र राज गरे ।
महिन्द्राले विद्युतीय गाडी रेभो भित्र्याएको लामो समयसम्म ग्राहकहरू विद्युतीय सवारीलाई विश्वास गर्न सकेनन् । तर जब सरकारले नै विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति लियो, त्यसपछि भने विद्युतीय सवारीसाधनको बोलबाला कायम भयो । यतिसम्म कि हाल कम्पनीहरू पनि धमाधम विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन्, ग्राहकको रोजाइ पनि विद्युतीय कार हुन पुगेको छ । यसको उदाहरण हो नाडा अटो शो २०२४ ।
यसपालिको नाडा अटो शोमा ३७ वटा चारपाङ्ग्रे गाडीका स्टल छन् । जसमा ९० प्रतिशत ब्राण्ड नयाँ छन् । टाटा, हुण्डाई, सुजुकी, महिन्द्रा, कियालगायत स्थापित ब्राण्ड पनि नाडामा छन् । तर अधिकांश भने नयाँ ब्राण्ड यसपालिको नाडा अटो शोमा देखिएका छन् । जसमा पनि ८६.६६ प्रतिशत अर्थात् ३२ वटा स्टल चिनियाँ ब्राण्डका छन् ।
नेपालमा विद्युतीय गाडी चल्न थालेको १४ वर्ष पुगिसकेको छ । तर २०६७ देखि ०७१ सम्म रेभाबाहेक विद्युतीय गाडी बजारमा खासै देखिँदैन थियो । तर सरकारले २०७१ मा वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गरेपछि बजारमा फाट्टफुट्ट अन्य बिजुली गाडी गुडेको देखिन थाल्यो । त्यसबेला सरकारले पाँच वर्षमा कुल सवारीसाधनको २० प्रतिशत बिजुली गाडी पु¥याउने लक्ष्य लिएको थियो । तर, २०७६ सम्म आइपुग्दा नेपालमा २६ वटा मात्रै विद्युतीय गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यसपछि भने विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढ्न थालेको देखिन्छ भने आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य बढेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा डिजेल–पेट्रोल गाडीलाई ११ हजार ७०० वटा विद्युतीय गाडी आयात भएका छन् । चालु आवको पहिलो महिना साउनमा मात्रै ३८१ वटा निजी विद्युतीय गाडी आयात भइसकेका छन् । सरकारले कुल सवारीसाधनमध्ये निजीतर्फ सन् २०२५ सम्म २५ प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखेकोमा यही आकर्षणसाथ बजार विस्तार भएमा उक्त लक्ष्य हासिल गर्न त्यति कठिन पनि देखिँदैन ।
हाल नेपालमा चिनियाँ विद्युतीय ब्राण्डले आक्रामक बजार विस्तार गरिरहेका छन् । टाटा, महिन्द्रा, किया, हुण्डाई, टोयोटालगायत प्रायः सबै ब्राण्डले विद्युतीय गाडी पनि भित्र्याएर बेच्न शुरु गरिसकेका छन् । हालसम्म विद्युतीय कारको व्यापार नगरेको सुजुकीले पनि अर्को वर्षसम्म इलेक्ट्रिक कार भित्र्याउने लक्ष्य लिएको छ । २०२५ जनवरी १४ मा भारतमा सुजुकी इभीएक्स लन्च हुँदैछ । त्यसपछि उक्त कार पनि नेपाल आउनेछ ।
नेपालमा हाल टाटा र बीवाईडीका विद्युतीय गाडीले आक्रामक बजार बनाएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी बीवाईडीले चार हजार ४ वटा विद्युतीय गाडी भित्र्याएको छ । टाटाले ३१ सय १० गाडी आयात गरेको कम्पनीले जनाएको छ ।
बीवाईडीले पछिल्ला केही महिनामा मात्रै आक्रामक रुपमा गाडी आयात बढाएको हो । सन् २०२२ र २०२३ विद्युतीय गाडी बेच्नेमा सबैभन्दा अगाडि टाटा थियो ।
पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपालमा २० हजार ७०० विद्युतीय गाडी आयात भएका छन् । जसमा सबैभन्दा विशाल बजार विस्तार गएका दुई वर्षमा भएको हो । विगत दुई वर्षको तथ्यांकअनुसार नेपालमा सन् २०२२ मा १ हजार ९५१ र २०२३ मा ७ हजार १ गाडी भित्रिएका छन् ।
सन् २०२२ र २०२३ को तथ्यांकअनुसार विभिन्न कम्पनीहरूले निम्न तथ्यांकमा विद्युतीय गाडी (इन्धन गाडीसहित) बेचेका छन् ।