शीर्षकहरू

लगातार पाँच वर्षसम्म मोटर बीमाको दाबी नगर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत छुट

लगातार पाँच वर्षसम्म मोटर बीमाको दाबी नगर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं : मोटर बीमा गरेको लगातार पाँच वर्षसम्म पनि बीमा दाबी नगर्नेले ५० प्रतिशतसम्मको छुट पाउनेछन् । नेपाल बीमा प्राधिकरणले मोटर बीमादर सम्बन्धी निर्देशिका २०५३ मा नै छुटको व्यवस्था गरेपछि धेरै बिमितहरु यस बिषयमा अनभिज्ञ रहेको प्राधिकरणले जनाएको छ । 

निर्देशिका अनुसार निजी सवारी साधन बीमा गरेको लगातार चार वर्षसम्म बीमा दाबी नगरेमा ४५ प्रतिशत छुटको व्यवस्था छ । त्यस्तै, लगातार तीन वर्षसम्म बीमा दाबी नगरेमा ४०, दुई वर्षसम्म नगरेमा ३० र एक वर्षसम्म नगरेमा २० प्रतिशतसम्म छुट हुनेछ । तर, यसको लागि भने बिमितले लगातार एउटै कम्पनीमा बीमा गरेको हुनुपर्नेछ । कम्पनी परिवर्तन गरेको अवस्थामा भने पहिले बीमा गरिएको कम्पनीमा दाबी नपरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

व्यवसायिक सवारी साधनको हकमा भने तीन वर्ष लगातार दाबी नगरेमा ३० प्रतिशत बीमाशुल्कमा छुट पाइनेछ । दुई वर्षसम्ममा २५ र एक वर्षसम्म नगरेमा १५ प्रतिशत छुट पाउनु हुनेछ । मोटरसाइकलको हकमा पनि तीन वर्षसम्म लगातार बीमा दाबी नगरेमा ३५ प्रतिशत, दुई वर्षसम्म नगरेमा २५ र एक वर्षसम्म नगरेमा १५ प्रतिशत छुटको व्यवस्था छ । 

मोटरको बीमा गर्दा कति लाग्छ बीमाशुल्क ? 

नेपाल बीमा प्राधिकरणले मोटर बीमाको बीमाशुल्क त निर्धारण गरिदिएको छ । प्राधिकरणले मोटर निर्देशिका नै जारी गरी विभिन्न खालका मोटरको बीमाशुल्कदर निर्धारण गरेको हो । 

मोटरको दर्ता भएको अवधि, सिसि र घोषित मूल्यको आधारमा प्राधिकरणले बीमाशुल्क निर्धारण गरेको हो । त्यस्तै, विद्युतीय सवारी साधनको हकमा भने प्राधिकरणले बीमाशुल्क निर्धारण गर्दा किलोवाटलाई पनि मानक मान्ने गरेको छ । 

प्राधिकरणले सवारी साधन, व्यक्तिगत दुर्घटना, तेस्रो पक्ष र अन्य क्षतिको सुविधाका लागि फरक फरक शुल्क निर्धारण गरेको छ । तर, तेस्रो पक्ष बीमालाई भने अनिवार्य गरेको छ । मोटर बीमा नवीकरण गर्दा अनिवार्य रुपमा तेस्रो पक्ष बीमा पनि नवीकरण गरेको हुनुपर्नेछ । 

निर्देशिका अनुसार मोटरसाइकल हकमा दर्ता भएको पाँच वर्षभन्दा कम अवधिको भएमा घोषित मूल्यको १.५  प्रतिशत बीमाशुल्क लाग्नेछ । दर्ता भएको ५ देखि १० वर्षसम्मको भएमा १५ प्रतिशत र १० वर्षभन्दा माथिको भएमा २५ प्रतिशतसम्म बीमाशुल्क लाग्नेछ । 
तेस्रो पक्ष बीमाको लागि भने १५० सिसि मोटरसाइकलको हकमा एक हजार ५०० रुपैयाँ लाग्नेछ ।  १५० देखि २५० सिसिको मोटरसाइकलको लागि एक हजार ७०० र २५० भन्दा माथिको भएमा एक हजार ९०० रुपैयाँ तोकिएको छ । मोटरसाइकलको हानि नोक्सानी विरुद्धको बीमाको न्यूनतम बीमाशुल्क एक हजार रुपैयाँ हुनेछ । 

सरकारी मोटरसाइकलको हकमा भने दर्ता भएको पाँच वर्षभन्दा कम भएमा घोषित मूल्यको एक प्रतिशत, ५ देखि १० वर्षसम्मको भएमा १५ र १० वर्षभन्दा बढी भएमा २५ प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको बीमाको हकमा भने १५० सिसिको लागि एक हजार २५० र १५० सिसि भन्दा माथिकोृ भएमा एक हजार ५०० रुपैयाँ तोकिएको छ । अपाङ्गमैत्री तीन पांङग्रेको हकमा भने सबै शुल्कमा २५ प्रतिशत छुट हुनेछ । 

निजी सवारी साधनको हकमा दर्ता भएको १० वर्ष भन्दा कम भएका २० लाख रुपैयाँसम्मको सवारी साधनको हकमा ०.८४ प्रतिशत बीमाशुल्क तोकिएको छ । सो भन्दा माथि हकमा १.१२ प्रतिशत शुल्क लाग्नेछ । सवारी साधन दर्ता भएको १० वर्षभन्दा बढीमा १० प्रतिशत थप लाग्नेछ । तेस्रो पक्षको बीमा लागि तीन हजार रुपैयाँ तोकिएको छ । 
एक हजार देखि एक हजार ६०० सिसिको निजी हकमा दर्ता भएको १० वर्षसम्म भएका २० लाख रुपैयाँसम्मको मूल्यमा ०.८७ प्रतिशत बीमा शुल्क लाग्नेछ । सो भन्दा बढी मूल्य भएको अवस्थामा १.१२ प्रतिशत शुल्क लाग्नेछ । दर्ता भएको १० वर्षसम्म भन्दा बढीको भएको अवस्थामा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको दायित्वको लागि भने चार हजार रुपैयाँ थप लाग्नेछ । 

१६००  सिसिको हकमा दर्ता भएको १० वर्षसम्म भएका २० लाख रुपैयाँसम्मको मूल्यमा ०.५१ प्रतिशत शुल्क लाग्नेछ । सो भन्दा बढी मूल्य भएको अवस्थामा ०.६२ प्रतिशत शुल्क लाग्नेछ । दर्ता भएको १०  वर्षसम्म भन्दा बढीको भएको अवस्थामा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको दायित्वको लागि भने दुई हजार ७५० रुपैयाँ थप लाग्नेछ । 

विद्युतीय सवारी साधनको हकमा २० किलोवाटसम्म दर्ता भएको १० वर्षसम्मको भएमा २० लाख मूल्य भएमा ०.६३ प्रतिशत बीमाशुल्क लाग्नेछ । सो माथिको शुल्कको हकमा ०.८४ प्रतिशत लाग्नेछ । १० वर्ष भन्दा बढी अवधिको भएमा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्ष दायित्वको लािग तीन हजार थप गर्नुपर्नेछ । 

२० किलोवाट भन्दा माथिको विद्युतीय सवारी साधनको हकमा भएको १० वर्षसम्मको भएमा २० लाख रुपैयाँसम्मको सवारी साधनमा ०.६५ प्रतिशत बीमाशुल्क लाग्नेछ । सो माथिको शुल्कको हकमा ०.८४ प्रतिशत लाग्नेछ । १० वर्ष भन्दा बढी अवधिको भएमा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्ष दायित्वको लािग चार हजार थप गर्नुपर्नेछ । 

यात्री ओसार्ने व्यवसायिक सवारी साधनको हकमा १४ सिट क्षमता भएको र दर्ता भएको पाँच वर्षभन्दा कम भएको अवस्थामा घोषित मूल्य १.२५ प्रतिशत, ५ देखि १० वर्षसम्मको भएमा १० प्रतिशत र १० वर्षभन्दा माथिको भएमा २० प्रतिशत  थप शुल्क लाग्नेछ । 
१४ सिट क्षमता भएको सवारी साधनको हकमा तेस्रो पक्ष बीमाको लागि ६ हजार ५०० थप शुल्क लाग्नेछ । १५ देखि १८ सिटको लागि ७ हजार ५००, १९ देखि २५ सिटको लागि नौ हजार, ३५ सिट भन्दा माथिको लागि १० हजार रुपैयाँ थप शुल्क लाग्नेछ । 

तर, कार्यालय, पर्यटन र निजी प्रयोजनमा मात्र प्रयोग हुने सवारी साधनको तथा एम्बुलेन्स र शव वाहनको व्यापक बीमा गर्दा शुरु बीमाशुल्कको २५ प्रतिशत छुट हुनेछ । 

ट्याक्सीको हकमा दर्ता भएको १० वर्षसम्म मात्रै भएमा घोषित मूल्यको दुई प्रतिशत र १० वर्षभन्दा माथि भएमा १० प्रतिशत थप शुल्क लाग्नेछ । तेस्रो पक्ष बीमा वापत भने एक हजार सिसि भएको ट्याक्सीको हकमा तीन हजार ५००, एक हजार देखि १६०० सिसिको हकमा चार हजार ५०० र एक  हजार ६०० सिसिको हकमा ६ हजार ५०० लाग्नेछ ।