शीर्षकहरू

१० प्रतिशत ब्याज लिने गरी एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको तयारी, एनसेललाई आर्थिक भार थपिने

१० प्रतिशत ब्याज लिने गरी एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको तयारी, एनसेललाई आर्थिक भार थपिने

काठमाडौं । सरकारले नविकरण शुल्कको वार्षिक १० प्रतिशत व्याज लिने गरि टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको अनुमतिपत्र नविकरण गर्ने तयारी गरेको छ । यससँगै एनसेलको नविकरणको विवाद हाललाई समाधान हुने देखिएको छ । तर, सरकारले निजी र सरकारी कम्पनीलाई गर्ने व्यवहार भने विभेदपूर्ण हुने स्पष्ट पार्नेछ । 

आज (विहीबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकमा एनसेललाई ब्याज सहित किस्ताबन्दीमा नवीकरण शुल्क भुक्तानी गर्ने सुविधा दिने निर्णय गर्ने तयारी भै रहेको स्रोतले जनाएको छ । एनसेलले आफ्नो तेस्रो पटकको अनुमतिपत्र नवीकरणका लागि ५ वर्षमा ५ किस्ता माग गरेको थियो । पहिलो किस्ता वापतको ४ अर्ब रुपैयाँ एनसेलले गत जेठ १४ गते नै प्राधिकरणलाई बुझाई सकेको छ । 

उता नेपाल टेलिकमको हकमा भने सरकारले फरक सुविधा दिएको छ । टेलिकमले नवीकरण वापतको शुल्क पाँच वर्ष पुरा भएपछि बिना ब्याज र जरिवाना शुल्क भुक्तानी गरेको छ । तर, एनसेलको हकमा भने सरकारले ब्याज र जरिवाना दुवै तोक्ने तयारी गरेको छ । स्रोतका अनुसार सरकारले चाह्यो भने टेलिकमसँग पनि जरिवाना र ब्याज लिन सक्थ्यौ । तर, सरकारले एनसेललाई मात्रै जरिवाना र ब्याज तोकेर विभेद गरेको छ । 

एनसेलले कानुन अनुसार नै अनुमतिपत्रको म्याद सकिनु अघि नै अग्रिम ४ अर्ब पहिलो किस्ताका रुपमा बुझाउँदै नविकरणका लागि गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो । कम्पनीले विगत लामो समयदेखि आफुहरुलाई सरकारबाट कहिल्यै समान व्यवहार नभएको गुनासो गर्दै आएको छ । 

वार्षिक रुपमा लगातार घटिरहेको आयको बिग्रदो अवस्थामा ब्याज र जरिवानाको व्यवस्थाले एनसेललाई आर्थिक भार थपिनेछ । उता नेपाल टेलिकमलाई पनि ब्याज माग्न सक्नेछ वा माग्नको लागि बाटो खुल्नेछ । यसले नेपाल टेलिकमलाई पनि असर गर्नेछ । विगत ५ वर्षमा राजस्व २५ प्रतिशतले घटेको छ ।

एनसेल र नेपाल टेलिकम दुवै ओटीटीबाट प्रभावित भएर प्रत्येक वर्ष राजस्वमा निरन्तर गिरावट झेलिरहेका छन् । इन्टरनेशनल आगमन कलमा पनि गिरावट आएको छ । डेटाको माग बढे पनि यसले भ्वाइसमा आएको राजश्वको कमिलाई पूर्ति गर्दैन । यो नेपाट टेलिकम र एनसेलको वित्तिय विवरणले स्पष्ट देखाउँदै आएको छ ।