शीर्षकहरू

अब बीमकले अनिवार्य जोखिम व्यवस्थापन समिति गठन गर्नुपर्ने

अब बीमकले अनिवार्य जोखिम व्यवस्थापन समिति गठन गर्नुपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले अनिवार्य रुपमा जोखिम व्यवस्थापन समिति बनाउने पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अर्थमन्त्रालयमा प्रस्ताव गरेको बीमा नियमावली यस्तो व्यवस्था गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार बीमकले बीमा वा पुनर्बीमा व्यवसाय प्रारम्भ गरेको ३० दिनभित्र स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय जोखिम व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । 

नियमावली सुरु हुँदा बीमा वा पुनर्बीमा व्यवसाय गरिरहेको बीमकले जोखिम व्यवस्थापन समिति गठन गरेको नभएमा नियमावली प्रारम्भ भएको मितिले ३० दिनभित्र त्यस्तो समिति गठन गर्नु पर्ने उल्लेख गरिएको छ । बीमकको सञ्चालक समितिको अध्यक्ष, कार्यकारी प्रमुख, लेखा प्रमुख र अध्यक्ष, कार्यकारी प्रमुख वा लेखा प्रमुखको नजिकको नातेदार जोखिम व्यवस्थापन समितिको सदस्य भने हुन पाउने छैन । 

समितिले बीमकको जोखिम व्यवस्थापन सम्बन्धी नीति तयार गर्नुपर्नेछ । बीमकको जोखिम पहिचान, मूल्याङ्कन, हस्तान्तरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नुपर्नेछ । त्यस्तै, जोखिम व्यवस्थापन सम्बन्धमा सञ्चालक समितिलाई सल्लाह दिने, बीमकमा जोखिम व्यवस्थापन संस्कृति विकास गर्नुपर्नेछ । 

त्यस्तै, प्राधिकरणमा पनि जोखिम व्यवस्थापन समिति रहनेछ । प्राधिकरण र समग्र बीमा क्षेत्रको जोखिमको पहिचान, मूल्याङ्कन र व्यवस्थापन सम्बन्धमा समिति समक्ष सिफारिस गर्न प्राधिकरणले तीन सदस्यीय समिति गठन गर्नेछ । व्यवस्थापन समितिमा समितिले तोकेको एक जना सञ्चालक संयोजक रहनेछन् ।

प्राधिकरणको कार्यकारी निर्देशक र प्राधिकरणको जोखिम व्यवस्थापन सम्बन्धी कार्य हेर्ने विभागको विभागीय प्रमुख सदस्य रहनेछन् । समितिको बैठक महिनाको कम्तीमा एक पटक बस्नेछ । जोखिम व्यवस्थापन समितिले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ आमन्त्रण गर्न सक्नेछ । जोखिम व्यवस्थापन समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।