काठमाडौं : अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने निर्णयबाट नेपाल बीमा प्राधिकरण पछि हटेको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० संशोधन गर्दै अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था गरेको थियो । प्राधिकरणले गरेको यो व्यवस्था अव्यवहारिक भएपछि प्राधिकरण आफनै निर्णयबाट पछि हटेको हो ।
प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० संशोधन गरेको थियो । संशोधित निर्देशिकाको दफा ३६ को उपदफा (३) मा ‘बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन नपाउने व्यवस्था गरिएको थियो ।
प्राधिकरणले निर्देशिका शंसोधन गरेको ६ महिना पनि नवित्दै सो व्यवस्था हटाएको छ । सो व्यवस्थाले समग्र बीमा व्यवसायमा नै असर परेपछि सो व्यवस्था हटाइएको जनाएको छ ।
प्राधिकरणले सरोकारवाला निकायसँग छलफल नै नगरी यस्तो व्यवस्था गरेको भन्दै अभिकर्ताहरुले असन्तुष्टी पोखेका थिए । अभिकर्ताहरुले यस बिषयमा चर्को विरोध गरेपछि प्राधिकरण र अभिकर्ता बिच पटक पटक छलफल पनि भएको थियो । छलफल पछि सो व्यवस्था हटाइएको पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका पूर्व अध्यक्ष राजेन्द्र अमात्यले बताए ।