शीर्षकहरू

‘नाडा अटो शो’ लक्षित बैंकहरुको कर्जा योजना: ८० प्रतिशत फाइनान्स सुविधादेखि स्थिर ब्याजदरसम्म

‘नाडा अटो शो’ लक्षित बैंकहरुको कर्जा योजना: ८० प्रतिशत फाइनान्स सुविधादेखि स्थिर ब्याजदरसम्म

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०२४’ शुरु भएको छ । नाडा अटो शोलाई लक्षित गरी बैंकहरुले विभिन्न सुविधासहितको अटो कर्जा योजना सञ्चालनमा ल्याएका छन् । नबिल बैंकदेखि महालक्ष्मी विकास बैंकले समेत आकर्षक सुविधा सहितको अटो कर्जा योजना ल्याएका हुन् । 

मेलामा उपस्थिति जनाएको सात बैकले ८० प्रतिशत फाइनान्स सुविधासहित दुईदेखि सात वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने भएका छन् । ग्लोबल आइएमई बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल मेगा इन्भेष्टमेण्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक र महालक्ष्मी विकास बैंकले अटो कर्जा योजना ल्याएका हुन् । 

कुनले कस्तो ल्याए योजना  ?  

ग्लोबल आइएमई बैंक  

ग्लोबल आइएमई बैंकले विशेष छुट सहित सवारी साधन कर्जा प्रदान गर्ने भएको छ । मंगलबार देखि शुरु भएको नाडा अटो शोलाई लक्षित गरी बैकले सरल र सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले इलेक्ट्रोनोटिक सवारी  साधनका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

यो ब्याजदर ५ वर्षसम्मका लागि स्थिर रहनेछ । यस्तो कर्जा अधिकतम सात वर्षसम्मको लागि प्रदान गरिने बैंकले जनाएको छ । इभीका लागि मूल्यको ८० प्रतिशतसम्म फाइनान्स सुविधा प्रदान गर्ने भएको छ । 

पेट्रोलियम सवारी साधनका लागि भने ८.४९ प्रतिशत स्थिर ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ । पाँच वर्षभन्दा धेरै अवधिको लागि भने बैंकले ९.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

बैंकले ५० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउनेछ । बैकले सवारी साधन कर्जासँगै पहिलो वर्ष क्रेडिट कार्ड, मोबाइल बैकिंङ सेवा निःशुल्क उपलब्ध गराउनेछ । तीन दिन भित्रमा सहज रूपमा कर्जा समेत उपलब्ध गराइने बैकले जानकारी दिएको छ । 

नबिल बैंक

नबिल बैंकले भने नाडा शोलाई लक्षित गरी इभी र पेट्रोलियम सवारी साधनका पाँच देखि सात वर्षसम्मको लागि स्थित ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले पाँच वर्षको लागि ८.२५ प्रतिशत स्थिर ब्याजदरका लागि अटो कर्जा प्रदान गर्ने भएको छ । त्यस्तै, सात वर्षका लागि भने ८.४९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।  

बैकले इभीका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा प्रदान गर्नेछ । त्यस्तै, पेट्रोलियम सवारी साधनका लागि भने व्यवसायिक सवारी साधनको लागि ७०  प्रतिशत र निजी प्रयोगको सवारी साधनको लागि भने ३० प्रतिशत कर्जा प्रदान गर्ने भएको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले ८ वर्षका लागि ८० प्रतिशतसम्म सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले इभीका लागि वेसरेटमा शून्य दशमलव ५ प्रतिशत र साधारण सवारी साधनका लागि वेसरेटमा शून्य दशमलव ६५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकको वेसरेट ८.८६ प्रतिशत छ । कर्जा व्यवस्थापन बापत शून्य दशमलव ५ प्रतिशत शुल्क लाग्नेछ । पेट्रोलियम सवारी साधनका लागि ५० प्रतिशतसम्म फाइनान्स सुविधा दिनेछ ।

नेपाल मेगा इन्भेष्टमेण्ट बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हरियाली यात्राको सुरुवागत इभी कार कर्जाको साथ भन्ने नाराका साथ अटो कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । 

बैंकले इभीको हकमा ५० देखि ८० प्रतिशतसम्म फाइनान्स सुविधासहित कर्जा उपलब्ध गराउने भएको छ ।  

पेट्रोलियम सवारी साधनको हकमा व्यवसायी सवारी साधनका लागि ८० र निजी सवारी साधनको हकमा ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्नेछ ।

बैंकले पाँच देखि सात वर्षसम्मको लागि कर्जा प्रदान गर्नेछ । बेस रेटमा एक प्रतिशत थप गरी ब्याजदर तोकिने बैकले जनाएको छ । 

सानिमा बैंक

सानिमा बैंकले गो इलेक्ट्रिक गो ग्रिन भन्ने नाराका साथ उत्सव अफर भन्दै अटो कर्जाको योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ प्रतिशत सात वर्षका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले इभीका लागि ८० प्रतिशत र पेट्रोलियम सवारी साधनका लागि ५० प्रतिशतसम्म फाइनान्स सुविधा समेत प्रदान गर्नेछ । बैंकले १० वर्षे कर्जाको सुविधा पनि दिने भएको छ । सात वर्ष पछि वेसरेटमा २ प्रतिशत ब्याज जोडिनेछ । 

कृषि विकास बैंक

कृषि विकास बैंकले पनि अटो कर्जा योजना ल्याएको छ । यस बैंकले ‘एडिविएलबाट कर्जा लिनुहोस्, रोजी रोजी गाडी किन्नुहोस्’ भन्ने नाराका साथ सवारी साधन कर्जा सञ्चालनमा ल्याएको हो । 

बैंकले नाडा अटो शोलाई लक्षित गरी कुल लागतको ८० प्रतिशतसम्मको फाइनान्स सुविधा सहित सवारी साधन कर्जा दिने भएको छ ।

बैंकले पाँच देखि सात वर्षसम्मको लागि कर्जा उपलब्ध गराउने छ । इभी र पेट्रोलियम सवारी साधनको लागि ७.९९ देखि ८.९९ ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । निश्चित ब्याजदरको लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ ।

अटो शो अवधिभरमा गाडी खरिद गर्नेलाई बैंकले शुल्क र कमिशनमा ३३ प्रतिशतसम्म छुट दिने भएको छ भने ब्याजदर प्रिमियममा ८२ प्रतिशत छुट दिने भएको छ ।  

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले जिन्दगी सरर अब मोटर गाडीमा भन्ने नाराका साथी अटो कर्जा ल्याएको छ । नाडा अटो शोलाई लक्षित गरी बैकले ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले दुई वर्षसम्मको लागि स्थिर ब्याजदर तोकेको छ । दुई वर्षपछि भने बैकको बेसरेटमा १ प्रतिशत सहितको ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।

बैंकले इभीको लागि पाँच वर्षको लागि ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पनि प्रदान गर्नेछ । पेट्रोलियम सवारी साधनका लागि सात वर्षसम्मको लागि ५० प्रतिशतसम्मको फाइनान्स सुविधा सहित कर्जा प्रदान गर्नेछ । यो योजना नाडा अटा शोमा गाडी बुक गर्ने ग्राहकको लागि मात्रै उपलब्ध हुनेछ ।