शीर्षकहरू

थाइल्यान्डमा बाढीबाट २२ जनाको मृत्यु

थाइल्यान्डमा बाढीबाट २२ जनाको मृत्यु

थाइल्यान्डमा व्यापक मनसुनी वर्षाका कारण आएको बाढीबाट हालै दिनहरूमा २२ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूले सोमबार यो साता अचानक बाढी आउने चेतावनी दिएका छन् । 

विपद् रोकथाम तथा न्यूनीकरण विभागले पछिल्लो १० दिनमा १३ प्रान्तमा अन्य १९ जना घाइते भएको र ३० हजारभन्दा धेरै घर प्रभावित भएको विज्ञप्तिमा जनाएको छ । 

गत साता थाइल्यान्डको लोकप्रिय रिसोर्ट टापू फुकेटको एक आवासीय क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेहरूमा एक रुसी दम्पतीसहित १० जना रहेका छन् । विभागले राज्यको उत्तर र उत्तरपूर्वका ३१ प्रान्तमा बिहीबारसम्म सम्भावित बाढीको सामना गरिरहेको पनि चेतावनी दिएको छ । 

“विभागले स्थानीय अधिकारीहरूलाई मौसमको नजिकबाट अनुगमन गर्न तथा टोली र उपकरणहरूलाई तयार राख्न आदेश दिएको छ”, विज्ञप्तिमा भनिएको छ, “मानिसहरूले पनि मौसमको पूर्वानुमानको पालना गर्नुपर्छ र चेतावनीहरूलाई गम्भीरतापूवर्क लिनुपर्छ ।”

बैङ्ककमा स्थानीय अधिकारीहरूले सहरका बाहिरी क्षेत्र र नदी किनारका बासिन्दाहरूलाई आफ्नो सामान उच्च स्थानमा लैजानका लागि तयार रहन चेतावनी दिएका छन् । 

नाखोन रत्चासिमाको पाक चोङ जिल्लामा निर्माणाधीन उच्चगतिको रेल सुरुङमा माटो खसेपछि सोमबार दुई चिनियाँ नागरिक र एक म्यान्मालीसहित तीन मजदुर पनि बेपत्ता भएका छन् ।

    थाइल्यान्डमा वार्षिक मनसुनी वर्षा हुने गरे पनि मानव निर्मित जलवायु परिवर्तनले अधिक तीव्र मौसमी ढाँचाहरू निम्त्याउँदा विनाशकारी बाढीलाई अझ बढी सम्भावित बनाउन सक्छ ।
–––