शीर्षकहरू

फेरि एकल बीमामै खनिए बीमा कम्पनीहरु, दुई गुणाभन्दा धेरैले बढ्यो पोलिसी बिक्री

फेरि एकल बीमामै खनिए बीमा कम्पनीहरु, दुई गुणाभन्दा धेरैले बढ्यो पोलिसी बिक्री

काठमाडौं । जीवन बीमा कम्पनीहरुको दिर्घकालीन व्यवसायका लागि घातक मानिएको एकल बीमाशुल्क जीवन बीमा पोलिसीमा जीवन बीमा कम्पनीहरु फेरि आक्रमक रुपमा खनिएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत आवमा एकल बीमाशुल्क जीवन बीमा पोलिसी दुई गुणाभन्दा धेरैले बिक्री भएको छ ।

गत आवमा कम्पनीहरुले ७६ हजार २४५ वटा एकल बीमाशुल्क जीवन बीमा पोलिसी जारी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने ३३ हजार ९२१ वटा मात्रै पोलिसी बिक्री गरेका थिए ।  

त्यस्तै, समिक्षा अवधिमा कम्पनीहरुले एकल बीमाशुल्क जीवन बीमा पोलिसी वापत तीन अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने एक अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरिएको तथ्यांकले देखाएको छ । 

एकल बीमामा एकुमष्ट रुपमा बीमाशुल्क संकलन हुन्छ । एकैपटक बीमाशुल्क संकलन गर्ने हुँदा तत्काल कम्पनीको व्यवसायमा पनि वृद्धि देखिन्छ । त्यसैले पनि कम्पनीहरु एकल बीमा व्यवसाय तर्फ आकर्षित भएको हिमालयन जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले बताए ।

‘एकल बीमाले कम्पनीलाई तत्कालको लागि फाइदा नै देखिन्छ । छोटो अवधिको लागि हेर्ने हो भने यो व्यवसाय राम्रो हो,’ उनले भने, ‘तर, दिर्घकालिन रुपमा भने यो व्यवसाय कम्पनीको लागि घातक हो । त्यसैले हामीले यो पोलिसीको बिक्री वितरणलाई निरुत्साहित गरेका छौं ।’  

बीमा कम्पनीहरुले बीमितको हित भन्दा पनि व्यवसायलाई प्राथमिकतामा राख्दै एकल बीमा पोलिसीको विक्री वितरणलाई जोड दिन थालेको नेपाल बीमा अभिकर्ता संघ नेपाल लाइफका पूर्व अध्यक्ष राजेन्द्र अमात्यले बताए । ‘एकल बीमामा अभिकर्तालाई धेरै कमिशन दिनु पर्दैन । बीमाशुल्क पनि एकै पटक संकलन हुने हुँदा प्रशासनिक खर्च पनि धेरै हुदैन,’ उनले भने । कम्पनीहरुले बीमितको हित भन्दा पनि तत्काल आफ्नो नाफाको व्यवसाय गर्न थालेका छन् । 

एकल बीमाशुल्क जीवन बीमा पोलिसी भनेको बीमितहरुले एकै पटक बीमाशुल्क भुक्तानी गर्नै पोलिसी हो । यस्तो खालको पोलिसीमा बीमितको उमेर र बीमा अवधि अनुसार बीमाशुल्क निर्धारण गरिन्छ ।  यसरी निर्धारण गरिएको बीमाशुल्क बीमितले एकै पटक भुक्तानी गर्नुपर्ने हुन्छ । बीमा अवधि सकिएपछि बीमांक रकम र त्यसमा आउने बोनश बीमितले एकमुष्ट प्राप्त गर्छ । 

अवकाश प्राप्त व्यक्तिको लागि यस्तो खालको पोलिसी उचित हुने प्राधिकरणका पूर्व निर्देशक दिनेश लाल कर्णले बताए । अवकाश प्राप्त व्यक्तिले एकै पटक रकम प्राप्त गर्ने हुँदा एकल बीमा पोलिसीमा खरिद गर्दा रकमको उचित सदुपयोग हुने उनले बताए । ‘तर, यस्तो खालको पोलिसी कालोधन लुकाउनका लागि प्रयोग भएको हुन सक्ने देखियो । बीमा दाबी वा समर्पण हुँदा कम्पनीले एकै पटक ठूलो रकम भुक्तानी गर्नुपर्छ । यस्तो अवस्थामा कम्पनी जोखिममा पर्ने हुँदा प्राधिकरणले एकल बीमा पोलिसी बिक्री वितरणमा सिमा लगाएको थियो,’ उनले भने । 

२०७४ सालमा सरकारले एक दर्जन भन्दा बढी जीवन बीमा कम्पनीलाई एकै पटक सञ्चालन अनुमति दिएको थियो । कम्पनीको संख्या दोब्बरले बढेपछि व्यवसायमा तिव्र प्रतिस्पर्धा बढेको थियो । प्रतिस्पर्धाकै कारण नयाँ कम्पनीहरुले एकल बीमाशुल्क बीमा पोलिसी बिक्री वितरण ह्वातै बढाएका थिए । 

निश्चित सिमा भन्दा बढी पोलिसी जारी हुनु कम्पनीको लागि घातक हुने भएपछि प्राधिकरणले कम्पनीलाई एकल बीमा पोलिसीमा जारी गर्न कडाई गरेको थियो । 

९१ प्रतिशतले घट्यो आजीवन बीमा पोलिसीको बिक्री

नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आजीवन बीमा गर्नेको संख्या ९१ प्रतिशतले घटेको छ । गत आवको मसान्तसम्ममा कम्पनीहरुले एक लाख ७४ हजार ७९७ वटा आजीवन जीवन बीमा पोलिसी विक्री गरेका छन् । तर, अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले २० लाख ६८ हजार ६०६ विक्री गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवको तुलनामा गत आवमा आजिवन जीवन बीमा पोलिसी विक्रीको अवस्थामा करिब शतप्रतिशतले घटेको छ । 

समिक्षा अवधिमा आजीवन बीमा पोलिसीबाट संकलन हुने बीमाशुल्क भने करिब तीन प्रतिशतले घटेको छ । प्राधिकरणको तथ्यांक अनुसार गत आवमा आजीवन बीमा पोलिस वापत चार अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो भने अघिल्लो आवको सोही अवधिमा चार अर्ब ४८ करोड रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ । 

आजीवन बीमा पोलिसी भनेको मानिसको मृत्यू भएपछि पनि इच्छाएको व्यक्तिले आर्थिक सुविधा पाउने पोलिसी हो । तर, अहिले कम्पनीहरुले यस्तो खालको पोलिसी बिक्री वितरणलाई निरुत्साहीत गरेको संघका पूर्व अध्यक्ष अमात्यले बताए । ‘बीमित र कम्पनीको दिर्घकालीन वृद्धिका लागि यो पोलिसी उपयुक्त हो । तर, कम्पनीहरुले यसको बिक्री वितरणमा अप्रत्यक्ष रुपमा रोक लगाएका छन्,’ उनले भने । 

त्यस्तै, सावधिक जीवन बीमा पोलिसीको बिक्रीदर भने उच्चदरले बढेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीहरुले २० लाख ९५ हजार ३३७ वटा सावधिक जीवन बीमा पोलिसी बिक्री गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले एक लाख ६८ हजार ६९५ वटा मात्रै पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । सो पोलिसी बिक्री गरे वापत कम्पनीहरुले गत आवमा ६२ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेका छन् भने अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले ५५ अर्ब ४४ करोड रुपैयाँ संकलन गरेका थिए । 

गत आवमा कम्पनीहरुले विक्री गर्ने पोलिसीमध्ये म्यादि जीवन बीमा र लघु जीवन बीमा पोलिसीको संख्या पनि घटेको छ । 

बीमा कम्पनीहरुले विभिन्न खालको जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएका छन् । सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजागर म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा छन् । 

यीमध्ये सावधिक र आजिवन बीमा अन्य बीमा पोलिसीका आधार हुन् । यिनै पोलिसीको आधारमा कम्पनीहरुले आफु अनुकुल बीमा पोलिसीहरु बनाउँदै आएका छन् ।