शीर्षकहरू

सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सुनकोशी(मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिएका छन ।     आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिएका हुन । “यो देशकै महत्वपूर्ण आयोजना हो । यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ”, मन्त्री खड्काले भने ।

  मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।  उनले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको उल्लेख गरे । 

ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले चालू आर्थिक वर्षभित्र ४० प्रतिशत काम सम्पन्न गर्नेगरी आयोजना निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताए । “आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्छ, काम तीव्र गतिमा हुनुपर्छ”, राज्यमन्त्री तामाङले भने । उनले प्रत्येक हप्ताको कामको प्रगति मन्त्रालयमा पठाउनसमेत निर्देशन दिए। 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सचिव सरिता दवाडीले राष्ट्रको भविष्यसँग जोडिएको यस आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीको समेत उक्त आयोजना निर्माणको बारेमा विशेष चासो रहेकाले दिनरात नभनी काम गर्नुपर्ने उल्लेख गरे ।

आयोजना निर्देशक मित्र बरालले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने र ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३४ प्रतिशत भएको बताए ।

उक्त आयोजनाको १३ दशमलव दुई किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सुरुको लागत रु ४६ अर्ब २२ करोड रहेपनि उक्त आयोजना सम्पन्न हुँदा रु ४९ अर्ब ४२ करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । उक्त आयोजना पट्टेल–रमन जेभीले निर्माण गरिरहेको छ ।