शीर्षकहरू

इभी आयातमा उच्च वृद्धि, तर छैन बीमाको छुट्टै व्यवस्था

आगामी दिनमा ठूलो दाबी पर्न सक्ने

इभी आयातमा उच्च वृद्धि, तर छैन बीमाको छुट्टै व्यवस्था

काठमाडाैं । नेपालमा पछिल्ला दुई वर्षमा इलेक्ट्रिक भेहिकल (इभी) को आयातमा उछाल आएको छ । अबकाे नेपाली अटोमोबाइल क्षेत्र इभी केन्द्रित हुनेमा दुई मत देखिन्न । तर, इभी बीमाको विषयमा भने नेपाल बीमा प्राधिकरणले छुट्टै व्यवस्था गर्न सकेको छैन ।

केही समयअगाडि प्राधिकरणले गठन गरेको अध्ययन समितिले छुट्टै व्यवस्था वा मोटर बीमा निर्देशिकामा नै इभी सम्बन्धी व्यवस्था गर्न सुझाव दिएको थियो । तर, प्राधिकरणले यस बिषयमा भने केही व्यवस्था  गर्न सकेको छैन । 

बीमा प्राधिकरणले मोटर बीमा निर्देशन संशोधन तथा इभी बीमाको अवस्थाको बारेमा अध्ययन गरी सुझाव पेश गर्न एक समिति गठन गरेको थियो । समितिमा इभी व्यवसायी संघ, यातायात विभाग र वैकिल्पिक ऊर्जाका प्रतिनिधिको पनि सहभागिता थियो । समितिले मोटर बीमामा निर्देशिकामा नै इभीको छुट्टै व्यवस्थासहितको संशोधन गर्न आवश्यक रहेको भन्दै प्राधिकरणलाई सुझाव दिएको प्राधिकरणका सूचना अधिकारी एवम् उपनिर्देशक निर्मल अधिकारीले बताए । तर, सुझाव अनुसार निर्देशिका संशोधन भने हुन सकेको छैन । 

प्राधिकरणले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने मोटरका लागि मोटर बीमा निर्देशका जारी नै गरेको छ । निर्देशिकामा नै मोटर बीमाको बीमांक गणना, बीमाशुल्क, बीमाले सुरक्षण प्रदान गर्ने जोखिमहरुको विषयमा व्यवस्था गरेको छ । तर, इभीको लागि भने हालसम्म व्यवस्था हुन सकेको छैन । 

इभी र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको प्रकृति फरक–फरक छ । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन सीसीको आधारमा बीमांक रकम तय हुन्छ । इभी भने किलोवाटको आधारमा गणना गर्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन र इभीको क्षतिको दाबी रकममा पनि धेरै अन्तर हुन्छ । त्यसैले यसका लागि छुट्टै पोलिसी वा निर्देशिका आवश्यकता भएको प्राधिकरण सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

‘इभी हाम्रो लागि पनि नयाँ अभ्यास हो । यसको दाबीको प्रकृति कस्तो हुन्छ भनेर पनि हामीलाई बुझ्नुपर्नेछ’, उनले भने । तर, अब छिट्टै यस सम्बन्धित छुट्टै व्यवस्था गर्नुपर्ने उनले बताए । 

छुट्टै बीमा पोलिसी जारी हुँदै, ठूलो दाबी पर्ने अनुमान

नेपाल बीमा प्राधिकरणले इभीको लागि छुट्टै व्यवस्था नगरेपछि बीमा कम्पनीहरुले केही निश्चित व्यवस्थासहितको बीमा पोलिसी जारी गर्न थालेका छन् । 

इभीको बीमा गर्दा पुरानो पोलिसीले न्याय गर्न सक्दैन ।  त्यसैले कम्पनीहरुले पुराना पोलिसीमा नभएको व्यवस्थालाई थप गरी इभी बीमा पोलिसी जारी गर्न थालेको नेपाल बीमक संघका महासचिव एवम् नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । 

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको तुलनामा इभीको बीमाशुल्क कम छ । तर, दाबी भने इभीको बढी पर्ने उनले बताए । ‘इभीको क्षति हुँदा लाग्ने मर्मत खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा दोब्बर छ ।  त्यसैले आगमी दिनमा इभीको दाबीको रकम ठूलो हुनेछ,” उनले भने । 

त्यसैले इभीको आयातलाई ध्यानमा राख्दै प्राधिकरणले यस सम्बन्धी छुट्टै व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

तीन गुणाले बढ्यो इभीको आयात

गत आर्थिक वर्ष २०८०/८१ इभीको आयात करिब गुणाले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३४ अर्ब ३७ करोड रुपैयाँ बराबरको इभीको आयात भएको छ ।  गत आवको सो रकम बराबरको २२ हजार ८८ वटा सबै खालका इभीको आयात भएको तथ्यांकमा उल्लेख छ । 

आयात भएका कुल इभीमध्ये दुई अर्ब ९१ करोड रुपैयाँ बराबरको आठ सय ८४ वटा सार्वजनिक सवारी साधन (बस, मिनिबस र माइक्रोबस) इभी नेपाल भित्रिएको छ । ३१ अर्ब ४५ करोड रुपैयाँ बराबरको २१ हजार २ सय ४ वटा अन्य सवारी साधन (कार, जीप र भ्यान) नेपाल भित्रिएको छ । 

अघिल्लो आव २०७९/८० मा भने १४ अर्ब १५ करोड रुपैयाँ बराबरको ११ हजार ९ सय ६४ वटा इभी नेपाल भित्रिएको विभागको तथ्यांक छ । जसमध्ये १ अर्ब १३ करोड रुपैयाँ बराबरको २ सय ८१ वटा सार्वजनिक र १३ अर्ब १ करोड रुपैयाँ बराबरको अन्य व्यक्तिगत प्रयोजनका सवारी साधन भित्रिएको उल्लेख छ । 

गत आवमा ३४ अर्ब भन्दा बढीको इभी आयात भैरहँदा जम्मा ८ अर्ब १४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात भएको छ । विभागको तथ्यांक अनुसार आव २०८०/८१ मा १० हजार ६३ वटा इभी आयात भएको छ ।