शीर्षकहरू

नेपालले बङ्गलादेशलाई हराउँदै समूह विजेता बन्यो

नेपालले बङ्गलादेशलाई हराउँदै समूह विजेता बन्यो

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।

यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशलले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । 

नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान एक एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । नेपालका समिरले नेपाललाई पहिलो अग्रता दिलाएका हुन् । त्यसपछि खेलको १९औँ मिनेटमा नेपालका अर्का खेलाडी निराजनले एक गोल थपे । उनले अभिनाश स्याङ्तानको क्रसमा गोल गरेका हुन् । 

त्यस्तै खेलको ४३औँ मिनेटमा बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल फर्काए । नेपालका राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले बङ्गलादेशलाई पेनाल्टी दिएको थियो । 

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने निकै प्रयास गरे  पनि सफल हुन सकेनन् र अन्ततः खेल २–१ मा सम्पन्न भयो । समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेल भोलि हुनेछ । जसमा भारत र माल्दिभ्स आमने सामने हनुेछन् ।