काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न कम्पनीको साधारण शेयरमा करिब ३ प्रतिशत लगानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले कुल लगानीको थोरै हिस्सा मात्रै साधारण शेयरमा लगानी गरेको देखिएको छ ।
तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०/८१ मा कम्पनीहरुले ६ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमध्ये शेयर बजारको साधारण शेयरमा भने जम्मा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन् ।
साधारण शेयरमा सबैभन्दा बढी हिमालय जीवन बीमा कम्पनीले लगानी गरेको छ । कम्पनीले साधारण शेयरमा ५ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको कुल लगानी भने ६५ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीले साधारण शेयरमा लगानी गरेको हिस्सा भने ८ प्रतिशत भन्दा बढी छ । त्यस्तै, रिलायबल जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ लगानी गरेको छ । यो रकम कम्पनीको कुल लगानीको ६ प्रतिशत हो ।
प्रभु महालक्ष्मी जीवन बीमा कम्पनीले र सन नेपाल जीवन बीमा कम्पनीले आफनो कुल लगानीको करिब ५/५ प्रतिशत रकम साधारण शेयरमा लगानी गरेका छन् । प्रभु महालक्ष्मीले साधारण शेयरमा ७७ करोड रुपैयाँ लगानी गरेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५८ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब १५ करोड रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख छ । यो रकम कुल लगानीको ४.३८ प्रतिशत हो । आईएमई लाईफ इन्स्योरेन्सले भने ६६ करोड ४६ लाख लगानी गरेको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६७ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । तर, मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने शेयरमा लगानी गरेको छैन ।
निर्जीवन बीमा कम्पनीको हकमा भने साधारण शेयरमा तीन अर्ब ८६ करोड रुपैयाँ लगानी भएको छ । यो रकम कुल लगानी गरिएको रकमको ५ प्रतिशत मात्रै हो ।
निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्रभु बीमा कम्पनीले लगानी गरेको छ । कम्पनीले साधारण शेयरमा ३२ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम कुल लगानी गरिएको रकमको १३ प्रतिशत हो । कम्पनीले गत आवमा दुई अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले करिब ९/९ प्रतिशत रकम लगानी गरेका छन् । नेको इन्स्योरेन्सले ५५ करोड रुपैयाँ लगानी गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ ।
नेपाल इन्स्यारेन्स कम्पनी र एनएलजीले सबैभन्दा कम लगानी गरेका छन् । यि कम्पनीहरुले करिब एक प्रतिशत लगानी गरेका छन् । नेपाल इन्स्योरेन्सले सात करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीले चार करोड नौ लाख रुपैयाँ मात्रै बजारमा लगानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी गर्नका लागि विभिन्न क्षेत्र र लगानीको सीमा पनि तोकिएको दिएको छ । प्राधिकरणले जारी गरेको निर्जीवन बीमकको लगानी निर्देशन र जीवन बीमकको लगानी निर्देशन अनुसार नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न सकिनेछ । शेयरमा लगानी गरिने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न नपाइने निर्देशिकामा उल्लेख गरिएको छ ।