शीर्षकहरू

गत आर्थिक वर्षमा एउटै कम्पनीको १८ अर्ब २१ करोड शेयर कारोबार

गत आर्थिक वर्षमा एउटै कम्पनीको १८ अर्ब २१ करोड शेयर कारोबार

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ अर्ब २१ करोड रूपैयाँभन्दा बढीको २ करोड ८८ लाख २७ हजार कित्ता शेयर कारोबार भएको हो । 

यस कम्पनीलाई आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यता छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको पूँजी २० अर्ब रूपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेसँगै कम्पनीलाई पूँजी बढाउनुपर्ने बाध्यता परेको हो । सर्वसाधारणमा आईपीओ जारी गरेकै पहिलो वर्षनै कम्पनीले लाभांश समेत वितरण गरेको छ । 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले पूँजी बढाउनका लागि हकप्रद शेयरसँगै आकर्षक बोनस शेयर वितरण गर्ने आशामा लगानीकर्ता रहेको देखिन्छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको आधारमा ८० प्रतिशत हकप्रद शेर निष्कासन गर्ने प्रस्ताव गत फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । 

कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रूपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रद पछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रूपैयाँ आवश्यक हुन्छ । थप रकम बोनस शेयर मार्फत कायम गर्ने सम्भावना देखिन्छ ।

गत वर्ष हिमालयन रिइन्स्योरेन्सपछि शिवम् सिमेन्टको बढी रकमको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ अर्ब २ करोड रुपैयाँभन्दा बढीको ३ करोड ३६ लाख ६ हजार कित्ता शेयर कारोबार भएको हो । यी सँगै गत वर्ष सर्वाधिक कारोबार गर्ने दश कम्पनीभित्र तेस्रो नम्बरमा सोनापुर मिनरल्स एण्ड आयल, चौथोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पाँचौमा सोल्टी होटल, छैठौंमा हाथवे इन्भेष्टमेन्ट, सातौमा हिमालयन डिष्टिलरी, आठौंमा ङादी ग्रुप पावर, नवौंमा गोर्खाज फाइनान्स र दशौंमा माउन्टेन ईनर्जि नेपालको शेयर कारोबार भएको हो । 

गत वर्ष सोनापुर मिनरल्सको १५ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको , एनआरएन इन्फ्रास्ट्रक्चरको १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको , सोल्टी  होटलको ९ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको , हाथवे इन्भेष्टमेन्टको ९ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको, ङादी ग्रुपको ८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी, गोर्खाज फाइनान्सको ८ अर्ब ९८ करोड रूपैयाँभन्दा बढीको र माउन्टेन ईनर्जिको ८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।