शीर्षकहरू

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन । सो भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ ।

मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी छिन । आज दिउँसो उनहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  

त्यसअवसरमा उनहरुबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो । 

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन। यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।