शीर्षकहरू

तेस्रो मोबाइल अपरेटर सञ्चालनका लागि अध्ययनको तयारी

तेस्रो मोबाइल अपरेटर सञ्चालनका लागि अध्ययनको तयारी

काठमाडौ ।  नेपाल दुरसञ्चार प्राधिकरणले तेस्रो मोबाइल सेवा प्रदायक भित्राउने तयारी गरेको छ । नयाँ सेवा प्रदायकलाई सञ्चालन अनुमति दिनका लागि अध्ययन गर्ने तयारी गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । 

हाल नेपालमा नेपाल टेलिकम र एनसेलले मोबाइल सेवा सञ्चालन गरी रहेका छन् । सेवाग्राहीलाई थप सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि तेस्रो सेवा प्रदायकको पनि सरकारले आवश्यकता महसुश गरेको उनले बताए । ‘सरकारले बजेटमा नै तेस्रो सेवा प्रदायकको लागि अध्ययन गरीने भन्ने व्यवस्था गरेको छ,’ उनले भने । सोही बमोजिम प्राधिकरणले पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको चालु आर्थिक बर्ष २०८१/८२ को बजेटमा नयाँ टेलिकम अपरेटर ल्याउनका आवश्यक अध्ययन गरिने उल्लेख गरेको छ ।

त्यस्तै, प्राधिकरणले २०८० असारमा नेपालमा मोबाइल सेवामा फ्रिक्वेन्सी प्रयोगको वर्तमान अवस्था र भावी योजना सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेको थियो । जसमा मोबाइल सेवामा डुओपोली हुँदा प्रतिस्पर्धा कम हुनुका साथै गुणस्तरमा प्रतिस्पर्धा हुन नसकेको उल्लेख गरिएको छ । 

प्रचलित कानुनका आधारमा नयाँ सेवा प्रदायकलाई मोबाइल अपरेटरको रुपमा सेवा सञ्चालन गर्न असम्भव छ । यस विषयलाई मध्यनजर गर्दै प्राधिकरणले फ्रिक्वन्सी अक्सनका आधारमा लाइसेन्स दिने पत्रमा उल्लेख गरेको छ । हाल दूरसञ्चार सेवाका लागि लाइसेन्स भएका संस्थाले मात्र फ्रिक्वेन्सी प्राप्त गर्न सक्ने व्यवस्था छ । अक्सनको बिजेताले स्पेक्ट्रमका साथै मोबाइल ब्रोडब्यान्ड सेवा प्रदायकको लाइसन्स प्राप्त गर्ने पत्रमा उल्लेख छ ।