शीर्षकहरू

गाजा युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका : अमेरिकी विदेशमन्त्री

गाजा युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका : अमेरिकी विदेशमन्त्री

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् । 

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भने, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो ।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालाई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताएका छन् । 

उनले भने, “यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ ।”

उनले अगाडि भने, “त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्,सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ ।” 

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिएका छन् । 

गाजामा अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको राष्ट्रपति हर्जोगले बताए । 

हर्जोगले ब्लिन्केनलाई भन्नुभयो, “हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन ।”