काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयले परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेटघाटका लागि समय मिलाएको छ । उनले सोमबार बेलुकी मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने समय तय भएको हो ।
परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नेछिन् । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् । परराष्ट्रमन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किनेछिन् ।