शीर्षकहरू

दोहोरो पदबारे सहकारीमन्त्रीको प्रश्न– एक व्यक्ति कति ठाउँमा बस्ने ?

दोहोरो पदबारे सहकारीमन्त्रीको प्रश्न– एक व्यक्ति कति ठाउँमा बस्ने ?
फाइल फोटो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सञ्चालकहरूको दोहोरो पदबारे सहकारीकर्मीहरुबीच नै फरक फरक धारणा रहेको बताएका छन् । शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३७ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

दोहोरो पदको विषयमा सहकारीकर्मीहरु तर्फ प्रश्न गर्दै मन्त्री अधिकारीले भने, ‘एक व्यक्ति कति ठाउँमा बस्ने हो ? यसको पनि किटान हुनुपर्‍यो । एक व्यक्ति धेरै ठाउँमा बस्ने, विभिन्न प्रवृत्तिका सहकारीहरूसँग बस्ने या एउटै प्रकृतिको सहकारीमा बस्ने हो ? विविध प्रकारका सहकारीमा तत्कालीन समयमा बस्ने की नबस्ने ? यसमा पनि तपाईँहरूबिचमै विभेद छ । सहकारी सञ्चालकहरू एउटै धारमा हुनुपर्‍यो नि ? जसले काम गरिरहेको त उनीहरूले नै स्पष्ट कुरा ल्याएनन् भने सरकारले जो अगाडी आएर भनेको छ त्यसकै कुरा सुनेर काम गरिदिन्छ । यस्ता कुराहरूमा सहकारीकर्मीहरु नै स्पष्ट हुनुपर्छ ।’  

त्यस्तै, उनले एक्ले अर्कालाई दोष दिएर सहकारीका समस्या समाधान नहुने बताए । ‘एकले अर्कालाई दोष देखाएर सहकारीका समस्या समाधान गर्न सकिँदैन । एकले अर्कालाई दोष दिएर पन्छिने गर्ने हो भने कहिले पनि समस्या समाधान गर्न सकिँदैन’, कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ । कुन कुन निकायहरूमा समन्वय, सहयोग र समर्थनमा सकिन्छ भन्नेमा ध्यान दिनु पर्छ ।’ 

मन्त्री अधिकारीले सहकारीकर्मीहरुबीचमै समन्वय नभएको गुनासो गरे । उनले प्रश्न गर्दै भने, ‘सहकारी अभियानकर्मीहरूबिचमै समन्वयमा भावनात्मक एकता छैन की ? अहिले विभिन्न सहकारीहरूले सहकारीहरूको नीति अनुसार काम गरेनन् । जसले गर्दा सहकारी समस्यामा आयो भनेर तपाइहरू आफै पनि भनिरहनु भएको छ ।’ 

व्यक्तिगत मुनाफाका लागि सहकारीहरू केन्द्रित भएको समेत उनले बताए । साथै सहकारीमा समस्या आयो भनेर पन्छिन नहुने बताउँदै उनले अब समाधानको उपायहरू खोज्नु पर्ने बताए । 

‘सहकारीहरूमा समस्या धेरै छैन । हल्ला अब सहकारी सकियो भनेर हुन्छ ।  त्यस्तो होइन । हामीले आफ्नो आफ्नो सहकारीहरूलाई व्यवस्थित बनाएर अगाडी बढाउने हो । समस्यामा परेका सहकारीहरुलाई अन्य सहकारीहरूले सहयोग गरेर उसलाई समस्याबाट बाहिर ल्याउनु पर्छ । यसो गर्न सकेमा सहकारीका समस्या समाधान हुन सक्छन्’, उनले भने । 

सहकारीको नियमनको विषयमा चर्चा हुने गरेको बताउँदै उनले भने, ‘सहकारीको अधिकार खोज्ने कहाँ हो ? आफ्ना समस्या कहाँ गएर राख्ने हो भनेर नै सहकारीहरूले चाल पाएका छैनन । तीन तहमा छन् सहकारी हेर्नेहरू । तर, केही भइहाल्यो की केन्द्रमै आएर धर्ना दिन्छन् ।’

पढाैँ याे पनिः विभागको निर्देशन नै टेर्दैनन् सहकारी, दोहोरो पद त्याग्नेबारे अनौठो छटपटी !