शीर्षकहरू

सहकारी मात्रै होइन बैंक पनि समस्यामा पर्न सक्ने देखिदैँछः गभर्नर

सहकारी मात्रै होइन बैंक पनि समस्यामा पर्न सक्ने देखिदैँछः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी संस्थाहरुमात्रै नभएर बैंकहरु पनि समस्यामा पर्न सक्ने बताएका छन् । शुक्रबार उनले सहकारी मात्रै नभई यस्तै अवस्था रहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् ।  

उनले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरूमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताए । संघीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए । 

उनले भने, “एक जना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ ।”

गभर्नर अधिकारीले उदाहरण दिँदै अहिले नेपालको बैकिङ प्रणालीमा त्यस्तै समस्या परिरहेको पनि बताए । उनले भने, “केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक/डेढ वर्षदेखि एक त रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन् । उनीहरूलाई हामीले केही गर्न सक्दैनौँ किनकि हाम्रो वातावरण यस्तै छ । अर्कोतर्फ तिरेनौँ भने हामीले थप लोन किन दिने फेरि फस्ला भनेर बैंक डराइरहेका छन् । यसबारे गम्भीर रूपमा समितिमा छलफल हुन जरुरी छ ।”

उनले बैंकिङ प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभई समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने सुझाव दिए । चेक अनादरले पब्लिकको डिपोजिटलाई दुरुपयोग हुने वित्तीय दायित्वलाई खलल पार्ने र समग्र आर्थिक प्रणालीलाई नै असर पार्ने हुँदा यसलाई कसुर मानिनुपर्छ भनेर यो ऐन २०६४ सालमा सुरु भएको जानकारी दिँदै अब चेक अनादर आफैँमा लेनदेन र देवानीको विषय हो वा सरकारवादी फौजदारी विषय हो भनेर समितिमा गम्भीर छलफल गर्न जरुरी रहेको उनको सुझाव छ ।