एजेन्सी । बलिउड क्षेत्रका कमेडीयत राजपाल यादव फेरि एकपटक समस्यामा परेका छन् । राजपाल यादव आफैंले संघर्षलाई आफ्नो जीवनको हिस्सा भएको बताएका छन् । बैंकको ऋण तिर्न नसकेपछि अब फेरि एकपटक राजपाल यादवको समस्या बढ्दै गएको छ । उनको बैंकबाट लिएको ऋणसँग सम्बन्धित करोडौंको सम्पत्ति बैंकले शाहजहाँपुरमा जफत गरेको छ ।
वास्तवमा राजपाल यादवले सेन्ट्रल बैंक अफ इण्डिया मुम्बईबाट ऋण लिन ग्यारेन्टीस्वरूप आफ्ना बुबा नौरङ यादवको नाममा रहेको जग्गा र भवनको कागजपत्र बैंकमा जम्मा गरेका थिए । त्यसपछि ऋणको रकम तिर्न नसकेपछि बैंकले यस्तो कारबाही गरेको हो ।
मुम्बईस्थित सेन्ट्रल बैंक अफ इन्डियाबाट ३ करोड रुपैयाँ ऋण लिएर राजपाल यादवले उक्त सम्पत्तिको कागजात बैंकमा जम्मा गरेका थिए । तर, ऋण नतिरेपछि यो रकम बढेर ११ करोड पुग्यो । भदौ ८ गते शुक्रबार सेन्ट्रल बैंक अफ इन्डिया बान्द्रा कुर्ला कम्प्लेक्स मुम्बई कम्प्लेक्स मुम्बई शाखाको टोली दुई दिनअघि शाहजहाँपुर पुगेको थियो ।
यसपछि राजपाल यादवको ऋणसँग सम्बन्धित करोडौं रुपैयाँको सम्पत्ति निकै गोप्य रुपमा सिल गरिएको छ । बैंकका कर्मचारीले राजपाल यादवको घरको ढोकामा ताला लगाएर सिल गरेका छन् र बैंकको सम्पत्ति अगाडि ब्यानर टाँसेका छन् ।