शीर्षकहरू

जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणः हिमालयनको सर्वाधिक नाफा, अन्यको कति ?

जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणः हिमालयनको सर्वाधिक नाफा, अन्यको कति ?

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा १५.१८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।

अहिले नेपालमा १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  अघिल्लो आव २०७९/८० मा  उनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवमा त्यो भन्दा ७५ करोड ५९ लाख ९२ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ७३ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् । 

जीवन बीमा कम्पनीहरुको यो नाफा बीमंकीय मुल्यांकन पछि थप बढ्नेछ । बीमांकीय मुल्यांकनका क्रममा बीमा कोषबाट १० प्रतिशतसम्म रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यो भएमा बीमा कम्पनीको नाफा थप बढ्ने कम्पनीहरु बताउँछन् । लगानीबाट भएको आम्दानीमा बृद्धि लगायतका कारण कम्पनीको नाफा बढेको देखिन्छ । 

गत आवमा हिमालयन लाइफ इन्स्योरेसले सबै भन्दा धेरै नाफा कमाएको छ । गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मिलेर बनेको हिमालयन लाइफ नाफा कमाउने मामिलामा पहिलो नम्बरमा देखिएको हो । गत आवमा उक्त कम्पनीले ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा उक्त कम्पनीको नाफा ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ थियो । 

नाफा कमाउने मामिलामा दोस्रो नम्बरमा भने सन नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ । गत आवमा उक्त कम्पनीले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ गरेको छ । यद्यपि, कम्पनीको नाफा भने घटेको देखिन्छ । अघिल्लो आवमा कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

आईएमई लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा छ । उक्त कम्पनीले गत आवमा ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा उक्त कम्पनीको नाफा २० करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो । त्यो अवस्थाामा कम्पनीको नाफा उच्च दरान बढेको  देखिन्छ । 

यस्तै, गत आवमा नेपाल लाइफले ५१ करोड ३९ लाख ८२ हजार, मेट लाइफले ५० करोड ४१ लाख ४३ हजार, रिलायवल नेपाल लाइफले ४२ करोड ६३ लाख ५८ हजार र नेशनल लाइफले ४० करोड ६३ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसैगरि सुर्य ज्योति लाइफले ३९ करोड ६५ लाख ३७ हजार, प्रभु महालक्ष्मी लाइफले ३६ करोड ६१ लाख ७४ हजार, सानिमा लाइफले ३५ करोड ८ लाख २४ हजार, एशियन लाइफले ३२ करोड ८५ लााख ९१ हजार, सिटीजन्स लाइफले ३२ करोड ४७ लाख ७९ हजार, एलआईसी नेपालले २३ करोड ८५ लाख ६ हजार र राष्ट्रिय जीवन बीमा कम्पनीले १५ करोड ३६ लाख ८६ हजार खुद नाफा कमाएको छ ।