शीर्षकहरू

एक किलो कोकिनसहित दुई विदेशी पक्राउ

एक किलो कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  

बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।