शीर्षकहरू

१५ अगस्टको बिदा खारेज भएपछि हसिनाले भनिन् : मेरो बुबाको अपमान भयो, म न्याय चाहन्छु

१५ अगस्टको बिदा खारेज भएपछि हसिनाले भनिन् : मेरो बुबाको अपमान भयो, म न्याय चाहन्छु

बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी शेख हसिनाले बंगलादेशमा देखिएको पछिल्लो राजनीतिक घटनाबारे पहिलो पटक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएकी छन् । शेख हसिनाका छोरा साजिब वाजिदले सामाजिक सञ्जालमा हसिनाको भनाइ उद्धृत गर्दै प्रतिक्रिया दिएका हुन् । साजिब वाजिदले आफ्नी आमालाई उद्धृत गर्दै लामो पोस्ट गरेका छन् ।

शेख हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको शालिक तोडफोड गर्ने घटनामा न्याय हुनुपर्ने बताएकी छन् ।

यस पोस्टमा शेख हसिनाले कसरी १५ अगस्ट १९७५ मा बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या भएको बताएकी छन् ।

बाबुको सम्झनामा शेख हसिनाले देशको वर्तमान अवस्थाबारे बोल्दै गत साउनदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको हिंसा र आगजनीका कारण देशका कैयौं निर्दोषले ज्यान गुमाएको बताइन् ।

शेख हसिनाले यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी छन् ।

वास्तवमा बंगलादेशको मिडियामा नयाँ अन्तरिम सरकारले १५ अगस्टको राष्ट्रिय बिदा रद्द गर्न लागेको दाबी भइरहेको छ । शेख हसिनाको यो भनाइ सोही परिप्रेक्ष्यमा आएको छ । आरक्षणको विरोधमा महिनौंदेखि चलेको हिंसात्मक आन्दोलनका कारण शेख हसिनाले देश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन् ।

अब बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । साजिब वाजिदको ह्यान्डलबाट गरिएको ट्विटमा शेख हसिनाले भनेकी छन्, 'अगस्ट १५, १९७५ मा राष्ट्रपिता र तत्कालीन राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको निर्ममतापूर्वक हत्या गरियो । म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँलाई मेरी आमा बेगम फजिलातुन नेसा, मेरा तीन भाइहरू– स्वतन्त्रता सेनानी क्याप्टेन शेख कमाल, स्वतन्त्रता सेनानी लेफ्टिनेन्ट शेख जमाल र शेख कमाल र जमालका नवविवाहित श्रीमती सुल्ताना कमल र रोजी जमालको पनि निर्मम हत्या गरियो। उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।'

शेख हसिनाले अगस्ट १५, १९७५ मा मारिएका धेरै स्वतन्त्रता सेनानी, सेनाका कर्मचारी र उनीहरूका परिवारलाई सूचीबद्ध गरे र यस दिनमा शहीद भएका सबैलाई श्रद्धाञ्जली दिँदै वर्तमान अवस्थाबारे भनेकी छन्, ‘गत साउनदेखि अहिलेसम्म आन्दोलनको नाममा हुने तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कैयौं निर्दोष नागरिकले ज्यान गुमाएका छन् । विद्यार्थी, शिक्षक, गर्भवती महिला, प्रहरी अधिकारी । पत्रकारहरु, कार्यकर्ताहरु, नेताहरु, अवामी लिगका कार्यकर्ताहरु आतंकवादी हमलाहरुबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र उनीहरुको आत्माको शान्तिको कामना गर्दछु ।'

शेख हसिनाले आफ्ना प्रियजन गुमाएको पीडामा बाँचिरहेका आफूजस्ता व्यक्तिहरूप्रति गहिरो सहानुभूति रहेको बताएकी छन् ।