शीर्षकहरू

राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्ला/फाइल तस्वीर

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ । 

यति लामो समयसम्म सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन् । यहाँको ठानाकोटमा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा सेवा अवरुद्ध भएको र विशेषगरी खार्पुनाथ गाउँपालिकाका चार वडाका सेवाग्राही मर्कामा परेका स्थानीय टेक बुढाले जानकारी दिए । महिना दिनदेखि टेलिफोन सेवाले नहुँदा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकामलगायत छिमेकी गाउँपालिकामा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको उनले गुनासो गरे । 

टावर मर्मतका लागि नेपाल टेलिकम कार्यालय हुम्लालाई वडाध्यक्ष च्यागा बोहराले ध्यानाकर्षण गराएका थिए । टेलिकमले हप्ता दिनभित्र मर्मतका लागि कर्मचारी पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नभएको जनाइएको छ ।  

नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिञ्जिन लामाले कर्मचारी अभाव र भएका कर्मचारी बिदामा रहेकाले मर्मत गर्न नसकिएको जवाफ दिए । अब केही दिनमै टावर मर्मत गरिने उनले बताए । 

यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही पनि टेलिफोन सेवाबाट वञ्चित छन् । यहाँ सोलारका भरमा सेवा सञ्चालन हुने गरेको छ तर सोलार पुराना भएका समस्या हुने गरेको स्थानीयले बताएका छन् । टावर रहेको स्थानसम्म विद्युत् पुगेको भए पनि टावरमा विद्युत् जडानका गरिएको छैन । -रासस