काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ ।
गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो । यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखे । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहेका उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।
‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ,’ त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनिन् । अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।