नेपाली किसानहरूलाई कृषि उत्पादनको बजारीकरणको समस्याले सधैँ पिरोल्ने गर्छ । बजारीकरणको समस्या झेलिरहेका किसानहरूको सहारा बनेको छ, ‘पैंचो पसल’ । बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको यस पसलले गाउँका उत्पादन सहरसम्म जोडेको छ ।
हस्पिटालिटी क्षेत्रमा सफल व्यवसायीको परिचय बनाएका गुल्मीका ध्रुव न्यौपानेले आफ्नो व्यवसायीक यात्रालाई नयाँ मोड दिने सोच बनाए । हस्पिटालिटी क्षेत्रबाट बाहिरिएर कृषि क्षेत्रमा क्रान्ति ल्याउनु पर्छ भनेर उनी कस्सिए । र, एउटा समूह बनाएर करिब तीन करोड लगानीमा पैंचो पसल प्राली स्थापना गरे । करिब एक दशक अगाडी स्थापना भएको पैंचो ग्रामीण किसानहरूको सहारा बनेको छ ।
पैंचोले गाउँको उत्पादन सहमा ल्याएर बिक्री गर्ने गर्छ । किसानको सहारा बनेको पैंचोले छोटो समयमै लोभलाग्दो फड्को मार्यो । जसले गर्दा पैंचोले थप लगानी बढाउँदै लग्यो । करिब तीन करोड लगानीमा शुरु भएको पैंचो विस्तार हुँदै हाल करिब ३० करोडसम्म लगानी पुर्याइएको छ ।
गुल्मीबाट शुरु भएको यात्रा पुग्यो अमेरिकासम्म
‘पैंचो पसल’को यात्रा लुम्बिनी प्रदेशको गुल्मीबाट शुरु भएको हो । कृषिजन्य वस्तु साटासाट गर्ने गरी २०७१ सालमा गुल्मीमा पैंचो पसल स्थापना भएको थियो । पैंचोले सुरुमा गुल्मी लगायतका विभिन्न ठाउँमा पसलहरू खोल्यो । त्यही मार्फत किसानहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न थाल्यो ।
‘कृषिजन्य उत्पादनको बजारीकरण गरिरहँदा धेरै किसानहरू आवद्ध हुनुभयो । त्यसक्रममा बुटवलमा कृषि मार्टहरू खोल्यौँ । बजार पाएपछि किसानहरूले उत्पादन बढाए । त्यसलाई औद्योगिकरणमा लैजाऊ भनेर गुल्मीमै हामीले २०७४ सालमा पैंचो प्रशोधन केन्द्र भनेर स्थापना गर्यो’, पैंचो पसल प्रालिका सेल्स एण्ड मार्केटिङ हेड लक्ष्मण गैरेले भने ।
उनका अनुसार पैंचोले गाउँको उत्पादन गुल्मी, बुटवल पाल्पा, अर्घाखाँची, बाग्लुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायत देशभरमा प्रमुख सहरसम्म पुर्याएको छ । त्यति मात्र होइन गाउँको उत्पादन विश्व बजारमा समेत पुर्याएको छ, पैंचोले । किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै ती उत्पादन जापान, अमेरिका, दुबईसम्म पुर्याएको छ ।
पैंचो पसलले औद्योगिक कच्चा पदार्थ समेत उपलब्ध गराइरहेको छ । पैंचोको प्रशोधन केन्द्रबाट प्रशोधन गरेका वस्तुहरू अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । किसानले उत्पादन गरेका सबैजसो वस्तुहरू पैंचो पसलले खरिद गरिदिन्छ । ती वस्तुहरू पैंचोले नेपालका प्रमुख सहरहरूसम्म मात्र होइन अमेरिकासम्म पुर्याएको छ ।
पैंचो पसलले कृषि उत्पादनलाई औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनेगर बनाउँदै आएको छ । परम्परागत खाद्यवस्तु फापरको पिठो, कोदोको पिठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको च्याँख्ला लगायतका वस्तु बिक्री गर्छ ।
ढुक्क छन् पैंचोमा जोडिएका किसान
गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुहरूले बजार पाउन गाह्रो छ । आफ्ना उत्पादनहरू बजारसम्म कसरी पुर्याउने भन्ने किसानहरूलाई समस्या छ । बजार पाइहाले पनि बिचौलियाका कारण उनीहरूको उत्पादन लागत समेत उठ्न नसक्ने अवस्था छ । त्यस्ता समस्यामा रहेका गाउँका किसानले उत्पादन गरेका वस्तुहरू सहरमा ल्याएर बिक्री गर्ने काम पैंचोले गरिदिएको छ ।
‘नेपालमा अहिले पनि कृषि क्षेत्रमा बजारको ठूलो चुनौती छ । उत्पादकले कम मूल्यमा बेच्नु पर्ने र ग्राहकले उच्च मूल्यमा खरिद गर्न बाध्य छन् । माटो केलाउनेभन्दा फोन खेलाउनेहरूले राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गर्छ त्यसको बिक्री गर्ने ग्यारेन्टी न सरकारले लिएको छ न त अरू कसैले लिएका छन् । यस्ता समस्यालाई समाधान गर्न पैंचोले उत्पादनमा सहयोग गर्ने, खरिद गर्ने र बिक्री गर्ने काम गर्छ’, गैरेले भने ।
पैंचोले उत्पादनस्थलमा नै पुगेर किसानका सबै उत्पादन खरिद गर्छ । पैंचोले किसानको सहयोगका लागि कृषि प्राविधिक गाउँमै खटाएर निःशुल्क सेवा दिन्छ । पैंचोले कृषिजन्य उत्पादनको बजार नपाउने समस्याको हल गरिदिएको छ ।
गैरेका अनुसार किसानले उत्पादन गरेका वस्तुहरू सहरसम्म किसानले ल्याउनु पर्दैन । उत्पादन भएको ठाउँमै लिनका लागि पैंचो पुग्ने गर्छ । जसले गर्दा उत्पादन गरेका तरकारी, फलफूलहरू एकापसमा बाँडेर खाने किसानहरू अहिले बिक्री गर्न पल्केका छन् । व्यावसायिक बन्न थालेका छन् ।
पैंचोले निर्वाहमुखी किसानहरूलाई व्यवसायी बनाउन प्रेरित गरेको छ । पैंचोले उत्पादनदेखि बिक्रीसम्मको सहयोग गरेका कारण यसमा जोडिएका किसानहरू ढुक्क बनेको कम्पनीको दाबी छ ।
‘पहिले बजार नपाएर किसानले उत्पादन भएको वस्तुहरू कुहिएर जाने समस्या थियो । पैंचाेले त्यो समस्या हटाइदिएपछि किसानहरू व्यवसायीक बन्न थालेका छन् । निर्वाहमुखि खेतीमा मात्रै ध्यान दिएका छैनन । पैंचोले सहरबाट गाउँमा जाँदा किसानहरूलाई आवश्यक सामान लिएर जान्छ र फर्किदा उत्पादन भएका वस्तुहरू लिएर आउँछ’, उनले भने ।
आफूले उत्पादन गरेका वस्तुहरू बिक्री हुन्छ भन्नेमा ढुक्क भएका कारण पैंचोमा जोडिने र यस मार्फत प्रत्यक्ष र अप्रत्यक्षरुपमा लाभ लिनेहरूको सङ्ख्या बढ्दो छ । हाल पैंचोबाट करिब एक लाख किसानहरू लाभान्वित भएका छन् । सयौँले रोजगारी पाएका छन्, करोडौँको कारोबार गरिरहेका छन् ।
अर्ग्यानिकसंगै गुणस्तरमा केन्द्रित
अर्ग्यानिक बिक्री गर्ने भन्दै विभिन्न पसलहरू खुलेका छन् । तर, त्यसरी बिक्री गरिएका वस्तुहरू अर्ग्यानिक नै छन् छैनन भन्ने शंका पनि उत्पन्न हुने गर्छ । पैंचोले अर्ग्यानिकसंगै गुणस्तरमा समेत ध्यान दिएको गैरेको दाबी छ ।
उनी भन्छन्, ‘ग्राहकहरू हामीले आफ्नै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिरहेका छौँ । यसले हाइजेनिकको ग्यारेन्टी गर्न सक्छौँ । धेरैजसो उच्च पहाडी क्षेत्रको कच्चा पदार्थ प्रयोग गर्छौ । पैंचोले अर्ग्यानिकसंगै गुणस्तरमा समेत ध्यान दिएको छ । हाम्रा उत्पादनहरू ढुक्कले उपभोग गर्न सक्नु हुन्छ ।’
पैंचोले टिपिकल ग्रामीण स्वाद ल्याउने भएकोले उपभोक्ताले सहर बसेर गाउँकै अर्ग्यानिक खानेकुरा उपभोग गर्न सक्ने उनको भनाई छ ।
ग्रामीण उत्पादन बढाउन आवश्यक
नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देशमा कृषिजन्य वस्तुहरूको आयात भने उच्च छ । नेपालको जमिन बाँझो हुने क्रम बढ्दो छ । त्यस्ता बाँझो जमिनमा उत्पादन बढाउने हो भने नेपालमा बाहिरबाट कृषिजन्य वस्तुहरू आयात गर्नु नपर्ने गैरेको भनाई छ ।
‘कृषि क्षेत्रमा विभिन्न कारणले नैराश्यता बढेको छ । वास्तविक किसानहरूले बजार भाउ पाउँदैनन् । उत्पादनको बजार ग्यारेन्टी छैन । किसानका उत्पादन क्षति भएमा त्यसको राहत किसानले पाउन सकेका छैनन । जसले गर्दा बाँझो जमिन बढ्दै गएको छ’, उनी भन्छन्, ‘वास्तविक किसानहरूका लागि सरकारले सहयोग गर्ने र बाँझो जमिनमा उत्पादन बढाउने हो भने कृषिजन्य वस्तुहरूको आयात गर्नु पर्दैन ।’
पैंचोले लिएको मोडल जसरी काम गर्ने हो भने कृषि उत्पादन बढ्ने उनको तर्क छ । नेपालमा केही पनि सम्भावना छैन भन्ने हल्ला चलाइएको बताउँदै गैरे अगाडी भन्छन्, ‘नेपालमा सम्भावना धेरै छ । व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती हो । उचितरुपमा व्यवस्थापन गर्ने हो भने सम्भावना प्रशस्त छ ।’
तर, कृषिसँग जोडिएर काम गरिरहँदा लगानीको समस्या रहेको उनको अनुभव छ । गैरेले भन्छन्, ‘सरकारले कृषिमा लगानी गर्नु भनेको छ । गाउँमा कसले लगानी गर्छ भनेर बैंक तथा वित्तीय संस्थाहरू लगानी गर्न मान्दैनन् । हामी जसरी गाउँमा काम गर्नेहरूलाई समस्या रहेको छ ।’ गाउँमा लगानी बढाउने आजको आवश्यक रहेको उनको भनाई छ ।
गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउँदै उनी भन्छन्, ‘विदेशमा गएर कमाउनेहरू भन्दा पैंचोसंग जोडिएर काम गर्नहरुले बढी कमाइरहनु भएका छन् । विदेश नै किन जानु पर्यो त्यहाँ जति यही कमाउन सकिन्छ भनेर उनीहरूले जोड दिइरहेका छन् ।’
पैंचो पसलले अवलम्बन गरेको बजार प्रणालीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । कृषिमा कर्जा प्रवाह बढाउने, समयमा किसानलाई मल उपलब्ध गराउने र प्राविधिक सहयोग गर्ने हो भने व्यवसायिकरुपमा कृषिमा लाग्नेहरूको सङ्ख्या बढ्ने र कृषिजन्य वस्तुहरूको आयात रोकिने उनको भनाई छ ।