शीर्षकहरू

सेबोनले भन्यो : रिलायन्सको वित्तीय विवरणमा कैफियत भेटिएन, थप अनुसन्धान गर्न पर्दैन

सेबोनले भन्यो : रिलायन्सको वित्तीय विवरणमा कैफियत भेटिएन, थप अनुसन्धान गर्न पर्दैन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्रको जवाफ पठाएको छ। उक्त कम्पनीको वित्तीय विवरणमा कसूर नदेखिएकोले सीआईबीको अनुसन्धान आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले बताएको छ। 

स्रोतकाअनुसार धितोपत्र बोर्डले गत साउन २४ गते सीआईबीलाई जवाफ पठाएको हो। करिब ४८ पृष्ठ लामो जवाफीपत्रमा  कम्पनीको वित्तीय विवरणमा बदनियतपुर्वक कुनै तथ्यांक समावेश भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ। 

पत्रको निष्कर्षमा ‘धितोपत्र सम्बन्धि ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ र बुक विल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एशोसिएट्सले कम्पनीको आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासको प्रतिशेयर आम्दानी ०.९६ पैसा र आव २०८०-८१ को प्रतिशेयर आम्दानी ३२.९० रुपैयाँ प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको बिषयलाई आधार मान्दा  उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिंदा धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९७ बमोजिमको कसूर गरेको भन्न सकिने अवस्था नदेखिएको’ उल्लेख छ ।

वित्तीय विवरणमा कुनै पनि किसिमको कसूर नभएकाले सीआईबीले थप अनुसन्धान गरिरहन आवश्यक नरहेको निष्कर्षसहित सेबोनले पत्राचार गरेको हो ।

कम्पनीको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरीपरेपछि यसबारे सत्यतथ्य जानकारी दिन भन्दै सीआईबीले गत असार २६  गते सेबोनलाई पत्रचार गरेको थियो। पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसार सेबोनले गत साउन २४ गते सीआईबीलाई पत्राचार गरेको हो ।