शीर्षकहरू

साढे तीन वर्षमा पनि बनेन बेलहिया अध्यागमन कार्यालय, फेरि म्याद थपिँदै

साढे तीन वर्षमा पनि बनेन बेलहिया अध्यागमन कार्यालय, फेरि म्याद थपिँदै

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहियामा बन्न लागेको अध्यागमन कार्यालय निर्माण शुरु भएको वर्षौँ बित्दा पनि पूरा हुन सकेको छैन । २०७७ माघ १५ गते काठमाडौंको बन्दना भगवती शंकर जेपीले निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले म्याद थप्दा समेत काम पूरा गर्न सकेको छैन ।

निर्माण व्यवसायीले समयमै काम पूरा गर्न नसकेपछि २०८० माघ ६ गते पहिलो पटक म्याद थप गरे । म्याद थप भएको समय २०८१ साउन १५ गते सकियो । तर कामले पूर्णता पाउन सकेन । निर्माण व्यवसायीले पुनः म्याद थपको लागि माग गरेका छन् । निर्माण व्यवसायी पेमा घिर्मी मोक्तान पाँच तले भवन १० करोड २५ लाख भ्याटसहित निर्माणको जिम्मा लिएका थिए ।

अहिले ग्राउन्ड फ्लोरमा टायल, आल्मुनियम झ्याल, काठको झ्याल, सिसा, खापा, लिफ्टको छानो, ग्रेनाइट लगायतका काम भएको छैन । भवन निर्माणका लागि डिजाइनमा रहेको तर परिमाणमा समावेश नगरिँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायीले प्लास्टर, इटाजडान गरेको भुक्तानी पाएका छैनन् । कतिपय कुराहरु डिजाइनमा नभएको तर बनाउने पर्ने भएकाले समस्या सिर्जना भएको बताउँछन् । भवनमा दुई ओटा लिफ्ट र दुई ओटा भर्‍याङ रहेको छ ।

अध्यागमन कार्यालय व्यवस्थित नहुँदा पर्यटकलाई समस्या बेर्होनु परेको बेलहिया गाँउ समाजका पूर्व अध्यक्ष अर्जुन गिरीले बताए । उनले छिटै बन्नु पर्ने भवन के कारणले किन ढिलो भयो भन्ने केही खबर नभएको बताए ।

सोटो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन गुप्ताले बेलहिया नाकामै हुनु पर्ने अध्यागमन कार्यालय टाढा हुँदा पर्यटकलाई ५ सय मिटर टाढा पुगेर काम गर्नु पर्ने बाध्यताले सास्ती भएको बताए ।

नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्त कुमार शर्माले पटक पटक म्याद थप गर्दा समेत भवनले पुर्णता पाउन नसकेको बताए । उनले बेलहिया नाकाबाट ७० प्रतिसत पर्यटक नेपाल भित्रिन्छन् तर यहाँको दुरावस्था निकै अस्तव्यस्त हुँदा नेपालको चिनारी माथि नै प्रश्न चिन्ह खडा भएको बताए ।  

बन्दना भगवती गौरी शंकर जेभीका इन्जिनीयर ध्रुव कुमार यादवले आधा समय कोरानाका कारणले कामले गति लिन सकेको बताए ।

उनले कार्यालयको डिजाइन र कन्सल्टेन्टको इस्टिमेट डिजाइन मेल नखादाँ समय थप गर्नु परेको बताउँदै समन्वय गर्ने कार्यालय संघीय आजोजना कार्यान्वय इकाई रुपन्देहीले थपिएको इस्टिमेटको भूक्तानीका लागि पहल नगरिदिँदा समस्या भएको बताए ।

निर्माण व्यवसायीले संघीय आजोजना कार्यान्वय इकाई रुपन्देहीले पहल नगर्दा समस्या भइरहेको बताइरहँदा उक्त कार्यालयका प्रमुख धर्मेन्द्र पन्थी ग्राउन्ड रिपोर्टको टिमसँग क्यामेरामा बोल्न चाहेनन् । उनले फोन मार्फत आफू बोल्न नचाहेको भन्दै कार्यालयमा नरहेको प्रतिक्रिया दिए ।

बेलहिया नाकामाबाट स्थलमार्ग भएर आउने मुलुककै ठूलो नाका हो । भने नेपालकै पर्यटक भित्रने दोस्रो नाका हो । बेलहिया नाकाबाट १२२ देशका नागरिक नेपाल भ्रमणमा आउने गरेको रेकर्ड छ । बेलहिया नाकाबाट आर्थिक वर्ष २०८०।०८१ मा ९० हजार ९ सय २१ जना पर्यटक नेपाल आएका छन् । जसमध्ये ३३ हजार ९ सय ८६ जना पुरुष, ५६ हजार १ सय ४ जना महिला र ३३ जना अन्य रहेका छन् । ९० हजार १ सय २३ जना बेलहिया नाकाबाट बाहिर गएका छन् । नेपाल आउने पर्यटक मध्ये सबै भन्दा बढी श्रीलङ्काका रहेका छन् । २१ जहार ९ सय ८७ जना श्रीलङ्काबाट, १९ हजार ९ ७५ जना थाइल्यान्डबाट, १३ हजार ४ ६८ जना म्यानमारबाट, ९ हजार ८ सय ९३ जना भेतनामबाट दक्षिण कोरियाबाट ४ हजार ७ जना नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ ।  

अध्यागमन अधिकृत नारायण प्रसाद पाण्डेले संख्यात्मक रुपमा बेलहिया नाका त्रिभुभवन अन्तराष्ट्रिय विमानस्थल पछि सबै भन्दा धेरै पर्यटक भित्रिने नाकाको रुपमा रहेको छ । श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र  साउथ कोरीयाबाट सबै भन्दा धेरै पर्यटक आउने गरेको पाण्डेले बताए ।

हजारौं पर्यटक भित्रने कार्यालय होटल हो या कुनै सुपर मार्के झट्ट हेर्दा छुट्याउनै कठिन छ । कार्यालय भवन निर्माणकालागि बनाउन लागेको भवन ५ वर्ष देखि पूरा हुन सकेको छैन् सो सम्बन्धमा कार्यालय प्रमुख पाण्डेले निर्माण व्यवसायी, संघिय आयोजना कार्यन्वयन इकाइ र विभाग बिच समन्वय गरीरहेको बताए ।

बेलहिया नाकाबाट सन् २०१८ मा  १ लाख ६६ हजार २ सय ३५ जना, २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ जना, २०२० मा ४३ हजार ३ सय ६७ जना, २०२२ मा २० हजार २ सय २० जना २०२३ मा ८१ हजार ५ सय ५१ जना पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ मा कोभिड १९ का कारण पर्यटक नै आएका थिएनन् ।