शीर्षकहरू

‘१३१ रुपैयाँमै एक लाखको बीमा हुन्छ’

हामी आईपीओ जारी गर्ने तयारीमा छौँ

‘१३१ रुपैयाँमै एक लाखको बीमा हुन्छ’

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कारोबार सुरु गर्नेमा पहिलो लघुबीमा कम्पनी बनेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत असारबाट व्यावसायीक कारोबार सुरु गरेको हो । प्रदेशमा एक–एकवटा लघुबीमा कम्पनी स्थापना गर्ने गरी तीन जीवन र चार निर्जीवन लघुबीमा कम्पनीलाई प्रदेश कार्यक्षेत्र तोकेर नेपाल बीमा प्राधिकरणले गत मंसिरमा आशयपत्र (एलओआई) दिएको थियो । कोसी प्रदेश तोकिएको गार्डियन लाइफ माइक्रोले गत चैतमा सञ्चालनका लागि अन्तिम अनुमति पाएको थियो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको यात्रा र माइक्रो इन्स्योरेन्सको अवस्थाबारे आर्थिक न्युज डटकमले गार्डियान माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चिरायु भण्डारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सिईओ भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः      

रि–इन्स्योरेन्स हुँदै माइक्रो इन्स्योरेन्ससम्मको यात्रामा आइपुग्नु भएको छ । यो यात्रालाई कसरी लिनु भएको छ ?   

रि–इन्स्योरेन्स भनेको अन्तराष्ट्रियरुपमा सम्बन्ध राख्नु हो । यो इन्स्योरेन्सको क्षेत्रको बैभन्दा माथिल्लो लेभल हो । माइक्रो इन्स्योरेन्स फेरि सबैभन्दा तल्लो तहको हो । मैले माथिल्लो र बीचको तह हुँदै तल्लो तहसम्म काम गरिसकेको छु । भर्खर तल्लो तहमा काम शुरु गरेको छु । बीमाको जन्मभूमि नै माइक्रो इन्स्योरेन्स हो । त्यसले गर्दा नेपाली जनतालाई माइक्रो इन्स्योरेन्स आवश्यक छ ।   

यहाँले नेपालमा रि– इन्स्योरेन्स आवश्यक छ भनेर लामै संघर्ष गर्नुभयो । अहिले हामी रि– इन्स्योरेन्सको कुन अवस्थामा छौँ ? 

रि–इन्स्योरेन्स भन्नेवित्तिकै हामीले आन्तरिक बजार मात्रै हेर्नु पनि होइन । अन्तर्राष्ट्रिय बजारलाई पनि हेर्नु पर्छ । हामीले यहाँको मात्रै व्यापारलाई सस्टेन्ट गरेर बस्ने होइन । बाहिरको पनि व्यापार ल्याएर हामीले बीमाको विस्तार गर्नुपर्छ । हाम्रोमा इन्स्योरेन्सको जुन व्यापार घाटा छ त्यसलाई बाहिरबाट व्यापार ल्याएर भएपनि रि– इन्स्योरेन्स स्थापित गर्ने हो । यसो गर्न सकिएमा हाम्रो बीमामा भएको व्यापार घाटा कम हुन्छ । हाम्रा रि–इन्स्योरेन्स कम्पनीहरुले रेटिङ राम्रो पाएमा उनीहरूले बाहिर पनि व्यापार विस्तार गर्न सक्छन् । विश्वासको वातावरण बनाउन सक्छन् । 

रेटिङको स्ट्याण्डर्ड के के हुन सक्छन् ? 

साधरणतया त्रिपल बी आएकाहरूको मात्रै रि–इन्स्योरेन्स लिन मिल्छ । यसबारे सर्टेन कुराहरू तोकिएका छन् । त्यो भन्दा कम रेटिङ भएकाहरूमा जान मिल्दैन । कम रेटिङ भएकाहरू राम्रो रेटिङ ल्याएपछि मात्रै हामीसँग रि–इन्स्योरेन्स गराउन सक्छन् । 

हिमालयन रि–इन्स्योरेन्सले पनि अन्तराष्ट्रियस्तरबाट एक लेभलको रेटिङ ल्याइसकेको छ । नेपाल रि–इन्स्योरेन्सले पनि प्रोसेस गरिरहेको छ । उनीहरूले रेटिङ पाएपछि बाहिरबाट व्यापार ल्याउन सजिलो हुन्छ । 


हामी बीमा कम्पनीहरू सङ्ख्यामा पनि धेरै छौँ । पुँजी पनि धेरै छ । नेपालका बीमा कम्पनीहरुले व्यापार कस्तो गरिरहेका छन् ?

बीमा कम्पनीहरुले आफ्नो आफ्नो क्षमता अनुसार उनीहरूले व्यापार गरिरहेका छन् । बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी राख्ने व्यवस्था गरेको छ । धेरै जोखिम हुनेहरूले धेरै पुँजी पुर्याउनु पर्यो अनि कम जोखिम लिनेहरूले कम पुँजी नै बनाउनु पर्यो । त्यही अनुसार नै बीमा कम्पनीहरू अगाडी बढिरहेका छन् ।

अझै पनि हाम्रोमा बीमा गर्नु पर्छ भन्ने खालको सोच आइसकेको छैन । हामी लाखौँ, करोडौँको घर बनाउँछौँ तर त्यसको बीमा गर्नु पर्छ भन्ने सोच राख्दैनौँ । हिजोसम्म करोडपति भएकाहरू केही कारणवश केही क्षति भएमा उ रोडपति हुन आउँछ । किनकि उसले बीमा गरेको छैन । बीमा गरेको भए कम्तीमा सुरक्षा त हुन्थ्यो । कम पैसा तिरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्न कोही चाँहदैनन । 

नेपाली जनता आनन्दका छौँ । कुनै समस्या पर्यो भने यो गर्नु पर्ने रहेछ भन्ने हुन्छ । केही समय पछि त्यो फेरि बिर्सिन्छौँ । भूकम्प आएको बेला सम्पत्ति बीमा गर्नु पर्छ भनने धेरैलाई भयो । तर, अहिले पनि सम्पत्ति बीमाको प्रतिशत हेर्यो भने टिठलाग्दो छ ।  

किन यस्तो भयो त ? यसको कारण के देख्नु हुन्छ ? 

यसमा बीमा कम्पनीप्रति विश्वास नभएर पनि होइन । मुख्य कुरा यसमा बीमा सम्बन्धी सचेतना नभएको हो । हामी कुनै साथीसँग बसेर एक छिनमा दशौँ हजार खर्च गर्छौ  । रमाइलो गरौँ भन्दा जति पनि पैसा निकाल्न सक्छौँ हामी । तर, त्यही पैसाको बीमा गर्दैनौँ ।  

बीमा कम्पनीहरुले एडभान्स पोलिसीहरु लञ्च गर्न किन नसकेका हुन् ? 

बीमा कम्पनीहरूलाई नयाँ नयाँ पोलिसी लञ्ज गर्नका लागि कतै विश्वास नभएको हो की भन्ने खालको भान हुन्छ । तर, अहिले विस्तारै अगाडी बढिरहेका छन् । नयाँ पोलिसी पनि ल्याइरहेका छन् ।  

हाम्रोमा बीमा कम्पनीहरू यतिका सङ्ख्यामा भइरहँदा माइक्रो इन्स्योरेन्स आएको छ । कतिपयलाई यसबारे जानकारी नै छैन ? के हो त माइक्रो इन्स्योरेन्स ? 

बीमा पनि मानिसहरूले बुझिसके । रि–इन्स्योरेन्स पनि करिब करिबले बुझिसके । तर, माइक्रो इन्स्योरेन्सले भनेको अझै पनि धेरैले बुझिसकेका छैनन । माइक्रो इन्स्योरेन्स भनेको जो इन्स्योरेन्सको दायरामा पुगेका छैनन । जस्तैः टेम्पु चलाउनेहरू, किसान, डकर्मी, सिकर्मीहरूको इन्स्योरेन्स नै छैन । कसले इन्स्योरेन्स गरेको हुन्छ ? कसैले हुँदैन । उनीहरू काम गर्दा गर्दै केही भइदियो भने उसको परिवारलाई कसले हेर्ने ? 

यी खालमा मानिसहरू जसलाई इन्स्योरेन्सको आवश्यकता छ उनीहरूको लागि आएको हो माइक्रो इन्स्योरेन्स । न्यून आय भएका व्यक्तिहरूलाई स्थानीय निकायहरूमार्फत थोरै प्रिमियममा बीमा गरिदिन्छौँ । उनीहरूको हामीले १३१ रुपैयाँमै एक लाखको बीमा गरिदिन्छौँ । १३१ रुपैयाँ भनेको खासै ठूलो कुरा होइन, एक प्लेट मःम हो । 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको एप डाउनलोड गर्ने हो भने हाम्रो पोलिसी जतिबेला पनि खरिद गर्न सक्नु हुन्छ । बीमाको महत्त्व बुझाउने ठाउँमा हामी छौँ । बीमाको आवश्यकता ग्रासरुटमा छ । त्यहाँ हामी छौँ । बीमालाई हुर्काउने बढाउने काम माइक्रो इन्स्योरेन्सले गर्छ ।  

जतिको बीमा गरिएको हुन्छ त्यति बराबरको बीमा ग्यारेन्टी हामीले दिन्छौँ । पोलिसी खरिद गरेको समयावधि सकिएपछि उसको पाउने पैसा अगाडी नै ग्यारेन्टी गरिदिएका हुन्छौँ । अरू कम्पनीहरुले बोनस भन्दै दिएका हुन्छन् । त्यो तलमाथी हुनसक्छ । हाम्रोमा निश्चित रकम रहेको छ । मानौँ हामीले बोनस दिन्छौँ, तायो तलमाथी हुनसक्छ भनेर भन्दैनौँ । हामीले ५० रुपैयाँ दिन्छौँ भनेका छौँ भने त्यो पैसा निश्चतरूपमा दिन्छौँ । हाम्रो बीमाको लिमिट पाँच लाख रुपैयाँसम्मको रहेको छ ।
पाँच लाखसम्मको बीमा त अरू कम्पनीहरुले पनि गरिरहेका हुन्छन् । यस्तो हुँदा बजारमा दोहोरिने सम्भावना हुन्छ की हुँदैन ?

त्यस्तो हुँदैन । कुनै व्यक्तिले दश वटा कम्पनीमा पनि पाँच पाँच लाखको बीमा गर्न सक्छ । त्यसमा लिमिट छैन । उसको प्रिमियम तिर्न सक्ने क्षमता छ भने उसले गर्न सक्छ । 
बजारमा एउटै चिजको दश थरिको रेट हुन्छ । हामीले घरमै बसेर बीमा गर्न सकिने व्यवस्थासहित ग्यारेन्टी रकमसहित बीमा गराएका छौँ । यसले गर्दा ठूला कम्पनीमा जानुभन्दा बिमितलाई हाम्रामा आउन सजिलो हुन्छ । 

स्थानीय तहले बीमामा नागरिक जोड्न के गर्नुपर्छ ? 

हाम्रोमा बीमा अनिवार्य भन्ने छैन । यदि अनिवार्य थियो भने सबैले बीमा गर्छन् । विस्तारै बीमाबारे नागरिकको पहुँच बढ्दै जानेछ । स्थानीय तहले लक्षित वर्गलाई बीमा गरिदिनु पर्ने हो । केहीले गरिदिएका पनि छन् । सबैले गरिदिने हो भने लक्षित वर्गको सुरक्षा हुने थियो । 

क्षेत्रमा पनि विभिन्न खालका आपराधिक घटनाहरू भइरहेका पाइन्छन् ? यसलाई तपाइले कसरी हेरिरहनु भएको छ ? 

बीमाका लागि विभिन्न आपराधिक घटनाहरू भएका छन् । यसबारे सरकारले कडा कानुन बनाउनु पर्छ । बीमाको रकम पाइन्छ भनेर केही समय अगाडी पोखरामा घर नै जलाए । त्यो भन्दा अगाडी अन्य घटनाहरू पनि घटेका छन् । 

बीमा क्षेत्रमा अर्को विकृति पनि मौलाइरहेको छ । ढिलो दाबी भुक्तानी गर्ने कुरा । कतिपयले बीमाको पैसा नै समयमा पाइँदैन बीमा गरेर के गर्नु पनि भन्ने गरेका छन् । त्यो खालको सोचाइ हामीले हटाउनु पर्छ । चाँडै दाबी भुक्तानी दिने वातावरण बनाउनु पर्छ । यदि त्यसो गर्न सकेमा बीमा गर्ने र बीमा प्रतिको विश्वास गर्नेहरू बढ्नेछन् ।    


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शेयर पनि जारी गर्दैछ होइन ? 

हो, हामी आईपीओ जारी गर्ने तयारीमा छौँ । नेपाल धितोपत्र बोर्डमा हामीले आवेदन दिइसकेको छौँ । त्यो प्रक्रियामा छ । सेबोनको अनुमति पछि उसले तोकेको नियममा रहेर जारी गर्छौ । हामी चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणमा जादैछौं । हामी न्यून आय भएका व्यक्तिहरूमा सहकार्य गरेर अगाडी बढ्ने भएकोले हाम्रो आईपीओ सबैले खरिद गर्नु हुन्छ भन्नेमा ढुक्क छौँ ।  

अन्त्यमा के भन्नुहुन्छ ?   

हामीले बीमालाई जीवनको एउटा आधारकारुपमा लिनु पर्ने हुन्छ । कुनै पनि हानीनोक्सानी भएको अवस्थामा बीमाले साथ दिन्छ, सहयोग गर्छ । थोरै पैसाले धेरै सहयोग पाइने भनेको पनि बीमामै हो । त्यसले गर्दा बीमालाई हामीले जीवनको आधार मानेर अगाडी बढ्नु पर्छ ।