काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ७१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ३२ दशमलव ८२ प्रतिशत कम भएको हो ।
गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम १ लाख ४५ हजार रूपैयाँभन्दा बढी रहेको छ भने खुद ब्याज आम्दानी करिब १२ प्रतिशत घटेको छ । जसको असर कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा पनि देखिएको हो । अघिल्लो वर्ष कम्पनीले इम्पेरमेन्ट चार्जवापत्को १३ करोड रूपैयाँभन्दा बढी रकम फिर्ता पाएको थियो भने खुद ब्याज आम्दानी १ अर्ब ८ करोड रूपैयाँभन्दा बढी थियो ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ४३ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको छ । १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटर्न अर्निग ४३ करोड ६० लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ७५ करोड रूपैयाँभन्दा बढी छ ।
कर्जा सापटी चौथो त्रैमाससम्म १५ अर्ब १४ करोड २२ लाख रूपैयाँभन्दा बढी लिएको कम्पनीको निक्षेप संकलन १ अर्ब ५४ करोड रूपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीले १५ अर्ब ९४ करोड २४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष ६ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ९ दशमलव ९२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ७ रूपैयाँ ३१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६८ रूपैयाँ १९ पैसा छ ।