शीर्षकहरू

सेबोन र नेप्सेको सुधारका लागि अर्थ समितिको निर्देशन

सेबोन र नेप्सेको सुधारका लागि अर्थ समितिको निर्देशन

काठमाडौं । धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ ।
अर्थ समितिको आजको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।

समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद बर्षमान पुनले शेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि आम मानिसको प्रश्न रहेको बताए । उनले पूँजी बजारमा स्वच्छ कारोबार र आवश्यक व्यवस्थापनका लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिए ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजार मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको भएपनि त्यसलाई लिएर गलत प्रचार गरिएको गुनासो गरे । धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा महतको भनाइ छ । 

सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको शेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताए । बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताए । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनहरूको भनाइ थियो ।

बैठकमा बोर्डको अध्यक्षको भूमिकासमेतमा रहेका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बजारको हल्लाका पछाडि लागेर शेयर बजारमा लगानी गर्न नहुने बताए ।
धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्‍याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उनले आग्रह गरे । बरालले चालु आवको मौद्रिक नीतिले गरेको  सहजीकरणका कारण बजार उकालो लागेको बताए ।