शीर्षकहरू

धरानमा के हुँदैछ ? मेयर साम्पाङविरुद्ध किन चर्कियो आन्दोलन ?

धरानमा के हुँदैछ ? मेयर साम्पाङविरुद्ध किन चर्कियो आन्दोलन ?

काठमाडौं । यतिबेला धरान अशान्त छ । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङविरुद्ध प्रदर्शन चर्किएको छ । बिहीबार उपहानगर परिसरमा विद्यार्थीहरूले उपमहानगरको गेटमा व्यापक प्रदर्शन गरे ।नेपाली कांग्रेस र नेकपा एमालेसहित १० दल मेयर साम्पाङको विरुद्ध आन्दोलनरत छन् । उनीहरूले खानेपानी महशुल बढाउने खानेपानी बोर्डको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका छन् ।

बिहीबार महशुल वृद्धिविरुद्ध प्रदर्शनरत विद्यार्थी र राजनीतिक दलका नेताहरूले मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै उपमहानगर परिसरभित्र छिर्न खोजेका थिए । त्यसक्रममा नगर प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो । खानेपानी महसुल वृद्धिका कारण एक सातादेखि धरानको राजनीतिक माहोल तातिएको छ ।

यसै क्रममा बिहीबार मेयर साम्पाङले मौखिक रुपमा  वार्तामा आउन आह्वान गरेका छन् । तर यसपहिले पनि मौखिक वार्ताका लागि आह्वान गरेर बल प्रयोग गरेको भन्दै प्रदर्शनरत दल र विद्यार्थीले लिखित पत्र पठाउन माग गरेका छन् ।

किन भयो आन्दोलन ?
धरानमा आन्दोलन चर्किनुको कारण खानेपानी महशुल वृद्धि हो । मेयर साम्पाङ अध्यक्ष रहेको खानेपानी व्यवस्थापन बोर्डले साउनदेखि  खानेपानीको महशुल अत्यधिक वृद्धि गरेको थियो ।

उक्त महशुल वृद्धिविरुद्ध मेयर साम्पाङविरुद्ध १० दलहरूले आन्दोलन शुरु गरेका हुन् । बोर्डलले पाइप जडानमा ८ हजार रुपैयाासम्म र नयाँ धारा जडानमा ७५ हजार रुपैयाँसम्म महशुल वृद्धि गरेको छ ।

आधा इन्चको पाइप जडानको शुल्क १५ हजारबाट २० हजार, ४–३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार, १ इन्चको पाइपको शुल्क १५ हजारबाट ५० हजार, १ देखि डेढ इन्च पाइपको धारा जडान शुल्क २० हजारबाट ७५ हजार, २ इन्चको पाइप जडान शुल्क २५ हजारबाट एक लाख रुपैयाँसम्म उपमहानगरपालिकाले पुर्‍याएको छ ।

यस्तै पाइपको होल चेन्ज दस्तुर तीन हजारदेखि १४ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ । यसैगरी मर्मत तथा चेक शुल्क ९ हजार ५०० रुपैयाँ वृद्धि गरिएको छ । यसअघि सबै इन्चका धारा जडानको मर्मत र क शुल्क ५०० रुपैयाँ रहेकोमा त्यसलाई वृद्धि गरी १० हजार रुपैयाँ पुगाइएको हो ।

मेयर साम्पाङको यसै निर्णय विरुद्ध धरान अशान्त भएको हो । उनले स्थानीय निर्वाचनको उम्मेदवार बन्दा प्रमुख एजेण्डा नै खानेपानी बनाएका थिए । धरानलाई नि:शुल्क खानेपानी पिलाउनुपर्छ भनी चुनाव लडेका उनले महशुल अत्यधिक बढाएपछि उनीविरुद्ध आन्दोलन चर्किएको हो । मेयर साम्पाङ शुल्कवृद्धिबारे पुनर्विचार गर्न तयार नभएपछि आन्दोलन झनै चर्किँदै गएको छ ।

यद्यपि, मेयर साम्पाङले भने एशियाली विकास बैंकको २ अर्ब १६ करोड रुपैयाँ ऋण तिर्न खानेपानीको महशुल वृद्धि गरिएको बताएका छन् । एडीबीबाट ल्याइएको ऋण तिर्नका लागि महशुल वृद्धि गर्न बाध्य भएको उनले बताएका छन् ।

२०६८ असोज २४ गते राजनीतिक दलहरू मिलेर एडीबीबाट खानेपानीका लागि ऋण लिने निर्णय गरेको र उक्त रकम हिनामिना गरिएको आशंका गर्दै तिनै दलहरूले आन्दोलन गरिरहेको बताएका छन् ।