शीर्षकहरू

भिजिओल फ्लाइट रूटअनुसार नचल्दा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भयो : प्राधिकरण

भिजिओल फ्लाइट रूटअनुसार नचल्दा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भयो : प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएको छ । बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सिभिल एभिएसनको भिजिओल फ्लाइट रूटले अनुमति नदिएको खराब मौसम (बादल भएको ठाउँ)मा हेलिकोप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको दाबी गरे ।

टावरबाट सम्पर्कबिच्छेद हुनेबित्तिकै आफूहरूले प्रोसिड्युअर अनुसार नै खोजी गरेको पनि उनले बताए । दुर्घटना भएको पुष्टि होउन्जेल पनि मौसम खराब नै रहेको भनाइ  उनको छ । 

यस्तै उनले दुर्घटना पुष्टि हुनेबित्तिकै उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको दाबी पनि उलने गरे । यद्यपि, सरकारले छानबिन आयोग गठन गरिसकेकाले दुर्घटनाको प्रमुख कारण के हो भन्ने त आयोगले नै बताउने पनि उनले बताए । उनले भने, 'यसको रूटकज चाहिँ छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ ।  यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजिओल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले वर्जित गरेको विषय हो ।'

बुधबार दिउँसो पाँच जनाको ज्यान जानेगरी नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा भएको  एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट अरूण मल्लसहित चार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको मृत्यु भएको छ । उक्त दुर्घटनाबारे छानबिन गर्न बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको छ । तीन सदस्यीय जाँचबुझ आयोगमा  विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।