शीर्षकहरू

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जना पक्राउ

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका १० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका(१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् ।

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूमध्ये महेश मानको साथबाट युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय, मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० तथा दिपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ ।