शीर्षकहरू

पुटिनलाई पक्राउ गर्न युक्रेनको आग्रह

पुटिनलाई पक्राउ गर्न युक्रेनको आग्रह

एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ । मार्च २०२३ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन् । मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकी थिइन् । उनलाई बधाई दिने विश्वका नेताहरूको पङ्तीमा प्टिन र जेलेन्स्की पनि रहेका छन् ।