शीर्षकहरू

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओमा तीन जना सिफारिस, कसले मार्ला बाजी ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओमा तीन जना सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । लामो समयदेखि नेतृत्वविहीन हुँदा निकै नै अस्तव्यस्त बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २२ गते अन्तिम निर्णयका लागी मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेसँगै खाद्यले नेतृत्व पाउने लगभग पक्का भएको हो ।

प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आव्हान भएकोमा १८ जनाले आवेदन दिएका थिए । नियुक्ति सम्बन्धी निर्देशिकाको अधीनमा रही कुल १०० पूर्णाङ्कको परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गर्दै मन्त्रीपरिषद्को बैठकमा निर्णयको लागि प्रस्ताव पठाएको जानकारी दिएको हो ।

सिफारिस समितिले भक्तपुरका गोपीकृष्ण न्यौपाने, तनहुँका डिल्लीराम लम्साल र धादिङका रमेश आचार्यको नाम अन्तिम निर्णयार्थ क्याबिनेटमा पठाएको छ । जसमध्ये लम्साल खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै डिजिएम तथा हाल निमित्त प्रमुख कार्यकारी अधिकृत हुन् । उनको सम्बन्धित कार्यालयमा अनुभव भए पनि त्यहीँको बेथितिसँग अन्तरघुलन भएका व्यक्तिका रूपमा आलोचित छन् । लम्सालबाट नयाँपन आउने सम्भावना नरहेको र उनलाई जब्बर प्रवृत्तिका खाद्यका कर्मचारीले समेत नटेर्ने भएकोले उनीबाट विगत कै निरन्तरता मात्र हुने भन्दै खाद्यका कर्मचारी नै नयाँ व्यक्ति आउनु पर्ने माग गरिरहेका छन् ।

सिफारिसमा परेका अर्का उम्मेदवार हुन्, रमेश आचार्य । धादिङका आचार्य युवा छन् । उनीसँग नवीन सोच र दृष्टिकोण देखिएकोले अन्तिम तीनमा उनलाई समेत आफूहरूले राखेको छनौट समितिका एक सदस्यले जानकारी दिए । तर, उनको अनुभव उद्योग, वाणिज्य महासङ्घमा मात्रै रहेकोले सार्वजनिक संस्था सञ्चालन गर्ने विधि र पद्धतिमा रहेको नदेखिएको छनौटकर्ता नै बताउँछन् ।

लामो समयदेखि खाद्य संस्थामा कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्दै कार्यकारी प्रमुखको जिम्मेवारी निर्वाह गर्न यिनलाई कठिन हुने देखिन्छ । सार्वजनिक खरिद ऐन, नियम, संस्थाको विनियमावली बमोजिम कार्य गर्न उनको अनुभवले नभ्याउने जानकारहरू बताउँछन् ।

सिफारिस समितिका एक सदस्यका अनुसार छनौटमा परेका तीन जनालाई छान्ने आधार मध्ये एक त्यही कार्यरत, दोस्रो नवीन सोचयुक्त युवा भए पनि अनुभवको कमी र तेस्रो अनुभवी, सक्षम अनि निजी तथा सार्वजनिक दुवै प्रकारको संस्था बुझेको व्यक्ति पहिचान गरिएको हो । छनौटमा परेका मध्ये न्यौपाने भने अनुभवी व्यक्ति मानिन्छन् ।

एमबिए तथा एलएलएम गरेका न्यौपानेसँग २४ वर्ष सिजीको महाप्रबन्धकको रूपमा काम गरेको अनुभव छ । यसबाहेक उनले वित्तीय क्षेत्र अन्तर्गत माछापुच्छ्रे बैंकको सञ्चालकका रूपमा १० वर्ष काम गरिसकेका छन् । सार्वजनिक संस्थानकै नेतृत्वकर्ताका रूपमा गोपीकृष्ण न्यौपानेले उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालिसकेका छन् । उनको नेतृत्वमा लामो समयदेखि घाटामा रहेको सो सिमेन्ट उद्योगले नाफा आर्जन गर्न थालेको थियो भने वर्षौँसम्म हुन नसकेको साधारण सभा र लेखा परिक्षणकोकाम समेत गरेर उनी अढाई वर्षमा बिदा भएका थिए ।  

न्यौपाने पेसाले ‘ख’ वर्गको लेखा परीक्षक र अधिवक्ता पनि हुन् । अस्पताल, शिक्षण संस्था लगायत एक दर्जन सामाजिक संस्थामा काम गरेको अनुभव पनि छ, उनीसँग । त्यसैले अबको ४ वर्षको लागि न्यौपानेलाई नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा मन्त्रिपरिषद्ले छान्न सक्ने सम्भावना प्रबल प्रबल रहेको सिइओ छनौट प्रक्रियालाई नजिकबाट नियालिरहेका खाद्यका हाकिमहरू बताउँछन्।

साबिक खाद्य संस्था र नेशनल ट्रेडिङ्ग लिमिटेड मर्ज भई बनेको कम्पनी हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीले विशेषगरी मुलुकका दुर्गम क्षेत्रहरूमा खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने गरेको छ । सहरी क्षेत्रमा समेत खाद्यान्न व्यवस्था गरिरहेको यस कम्पनीले नेशनल ट्रेडिङ गाभिइसकेपछि व्यापार गर्ने अवसर पनि पाएको थियो । तर, यसले उद्देश्य बमोजिम कार्य गर्न सकिरहेको देखिँदैन ।