शीर्षकहरू

अमेरिका र बेलायतले शरण नदिएपछि अब कहाँ जान्छिन् हसिना ?

अमेरिका र बेलायतले शरण नदिएपछि अब कहाँ जान्छिन् हसिना ?

काठमाडौं । बंगलादेशमा भएको विद्यार्थी आन्दोलनले विशाल रुप लिएपछि प्रधानमन्त्री शेख हसिना पद मात्रै होइन देशै छाडेर भाग्न बाध्य भइन् । सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री हसिनाले गत सोमबार पदबाट राजीनामा दिएर भारत पलायन भएकी थिइन् । 

तत्काल छिमेकी मुलुक भारत पुगेपछि भारतका विदेशमन्त्री एश जयशंकरले मंगलबार भारतीय संसद्‌मा हसिना भारतमा रहेको जानकारी दिएका थिए । धेरै छोटो सूचनामा हसिनाले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गरेपछि आफूहरूले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गरी सोमबार साँझ हसिना भारत आइपुगेको जानकारी उनले दिएका थिए ।

हसिनाले देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि संसद् भंग गरेका थिए । हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने पक्का भएको छ । युनुस हाल उपचारका क्रममा फ्रान्सको पेरिसमा रहेकोमा उनी बिहीबार स्वदेश फर्किँदैछन् । बंगलादेशको राजनीतिले कुन मोड लिन्छ भन्ने प्रष्ट नभए पनि एक कुरा भने प्रष्ट छ हसिना तत्काल स्वदेश भने फर्किने छैनन् । उनी अन्तर्राष्ट्रिय राजनीतिक शरणको खोजीमा छन् ।

उनले सोमबार नै देश छाड्नुअघि नै अमेरिकी भिसाका लागि आवेदन दिएकी थिइन् । तर अमेरिकाले उनको भिसा खारेज गरिदियो । त्यसपछि उनले बेलायत जाने चाहना राखेर त्यहाँ शरणका लागि याचना गरिन् । तर उनको आशाविपरीत बेलायतले आफू पुगेको पहिलो सुरक्षित देशमा शरण लिन उपयुक्त र सुरक्षित हुने जवाफ फर्काएपछि यतिबेला उनी कहाँ शरण लिन्छिन् भन्ने स्पष्ट छैन । सोमबार उनी बंगलादेश छाडेर भारत पुगे पनि उनी भारतमै बस्छिन् वा अन्य देशको शरणमा पुग्छिन् भन्ने पनि अन्योल छ ।

अमेरिका र बेलायतले शरणका लागि ढोका बन्द गरेपछि यतिबेला उनी अन्य देशमा राजनीतिक शरण खोजिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । द हिन्दूले हसिनाले यूएई, साउदी अरब र फिनल्यान्डमा शरणका लागि कोसिस गरिरहेको बताएको छ । यद्यपि, हसिनाका छोरा सजीव वाजेद जोयले भने हसिनाले कहीँ पनि शरण नखोजेको दाबी गरेका छन् ।