शीर्षकहरू

सिद्धबाबा सुरुङमार्गमा कति भयो काम ?

सिद्धबाबा सुरुङमार्गमा कति भयो काम ?

भैरहवा । चुरे फोडेर निर्माण गरिएको बुटवलदेखि पाल्पा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको करिब ३ किलोमिटरको सिद्धबाबा सडक खण्ड नेपालकै सबैभन्दा जोखिमपूर्ण सडक खण्ड हो । हिउँदमा ढुङ्गा खस्ने र वर्षामा पहिरो जाने उक्त सडकले धेरै यात्रुको ज्यान लिएको छ । यसैले केहीले यसलाई मृत्युमार्ग पनि भन्ने गरेका छन् । वि.सं. २०१८ सालबाट ट्रयाक खोलेर २०२८ सालदेखि सवारी साधन अवागमन हुन थालेको उक्त सडकमा कहिले रकनेट, कहिले सुरुङ बनाउने भन्दै प्रचार गर्न थालिएको दशकौँपछि बल्ल सुरुङ खन्ने काम सुरु भएको छ ।

दैनिक हजारौँ सवारी साधन सोही बाटो हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, अर्घाखाँची, पर्वत र मुस्ताङ, बनि बाग्लुङबाट बुटवल ओहोर–दोहोर गर्छन् । हजारौँ सवारी साधन चल्ने उक्त सडकखण्डमा निर्माण भइरहेको सुरुङमार्गको काम भने कछुवा गतिमा छ । विगतमा रकनेट कि सुरुङमार्ग भन्दै अल्झिएको काम बल्ल–बल्ल सुरुङमार्ग बनाउनेगरी ठेक्कापट्टा भई काम शुरु भए पनि उक्त कामले पनि उल्लेखनीय गति लिन सकेको छैन ।

अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग १६.८६ प्रतिशत मात्रै काम भएको छ । २०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ साल भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको दुई वर्ष हुँदा सिद्धबाबा सुरुङमार्ग निर्माणको काम भौतिक १६.८६ प्रतिशत र आर्थिक २३.८ प्रतिशत भएको छ । उक्त सडकखण्डको सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिर अगाडिको पहरो हुँदै विद्युतको हेडबक्ससम्म एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणको काम भइरहेको छ । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय लगायो । २०७९ फागुनमा सुरुङमार्गको काम अघि बढाए पनि २०८० साउनमा आएको पहिरोले सुरुङमार्गको दक्षिण र उत्तर दुबैतर्फको पोर्टलमा क्षति पुर्‍याएको थियो । पहिरोले क्षति पुर्‍याएपछि काम बन्द भई असोजमा पुनः शुरु भयो । सुरुङमार्गको दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकाशका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकसाथ अघि बढाएको छ । 

अहिलेसम्म पहिलो बाइपास टनेल ८२.४ मिटर, दोस्रो ७५.१ मिटर  र तेस्रो ८१.२ मिटर खन्ने काम भएको छ । मुख्य मार्ग उत्तर तर्फबाट १५६.७९ मिटर र दक्षिण तर्फबाट १९३.७९ मिटर गरी जम्मा ३५०.५८ मिटर खनिएको छ । पहिलो बाइबास १५१ मिटर, दोस्रो बाइपास १६१ मिटर, तेस्रो बाइपास १३० मिटर र मुख्य मार्ग १ हजार १ सय २६ मिटर सम्म खन्नुपर्ने हुन्छ । 

सुरुङमार्गको दक्षिणतर्फको मुखमै सिद्धबाबा मन्दिर रहेकाले बिस्फोट गर्न नमिल्ने हुँदा काम केही ढिलो भएको आयोजनाले जनाएको छ ।

सिद्धबाबा मन्दिर क्षेत्रमा रहने पुष्प व्यवसायी विष्णुकुमारी घिमिरेले मन्दिरमा आउने भक्तजनले पूजा गर्ने समयमै बम ब्लास्ट गर्ने कारण पूजाआजा राम्ररी गर्न नपाउने र दौडबाजीमा  भक्तजनले लगेका पूजा सामाग्रीको पैसा समेत नतिर्दा व्यवसायी मारमा परेको बताइन् ।

सिद्धबाबा क्षेत्रमा बढी पहिरो खस्ने भएकाले  सुरुङमार्गको लम्बाइ बढी हुनु पर्ने बताउँदै आगामी पुस्ताले विकासको महशुस गर्ने खालको सुरुङ निर्माण हुनु पर्ने सशांक पौडेलले बताए ।

स्थानीय रवीन्द्र पौडेलले समय व्यवस्थान नगरी जतिबेला पायो त्यति बेला बम ब्लास्टिङ गर्दा त्यो बाटोमा आवतजावत गर्ने विद्यार्थी सवारीसाधन र यात्रु जाममा पर्ने गरेको बताए । स्थानीय अरबिन्द पाण्डे भने सुरुङ मार्ग राष्ट्रकै गौरवको आयोजना हुँदा विकास निमार्ण कार्यमा आइपर्ने साना तिना समस्या सबैले स्वीकार्नु पर्ने बताउँछन्

स्थानीय विपीन आर्चायले अन्य समयमा भन्दा पनि वर्षाको समयमा पानीको कारण खाल्डा खुल्डी नदेखिने र सवारीसाधन जाममा पर्दा अली समस्या भएको बताए । 

सुरुङको काम द्रूत गतिमा भएता पनि काम गर्ने क्रममा त्यहाँबाट निस्कने धूलोले स्थानीयलाई सास्ती भएको तिनाउ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष यादव प्रसाद अर्याल बताउँछन् । स्थानीयले जतिबेला पायो त्यती बेला ब्लास्टीङ गर्ने गरेको बताइरहँदा सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सुचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले भने विकास भइरहेको क्रममा केही हदसम्म स्थानीयले आरोप लगाउन भन्दा विकासका निम्ति केही कुरा सहनुपर्ने बताइन् ।

इन्जिनियर ज्ञवालीले कन्सट्रक्सनले २४ घण्टा काम गरि रहेको र भौतिक र आर्थिक प्रगति लक्ष्य अनुसार पुरा हुँदै गएकोले समयमै सम्पन्न हुन सक्ने बताइन् ।

सिद्धबाबा सुरुङमार्ग ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले अहिलेसम्म करिब १ अर्ब ५५ करोड ८६ लाख भूक्तानी लिइसकेका छन् । निर्माण कम्पनीले सुरुङ मार्गसँगै बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौता छ ।

बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति हुन थालेपछि सुरक्षित अवागमनका लागि सुरुङमार्ग निर्माणको योजना अघि बढाइएको हो । सुरुङमार्ग निर्माणपछि पाँच वर्षसम्म मर्मत तथा सञ्चालनको काम पनि सोही निर्माण कम्पनीले नै गर्नुपर्ने छ  । सुरुङ चलेपछि यस मार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा अवागमन गर्ने सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको ज्यान जानेगरी हुने दुर्घटना धेरै हदसम्म रोकिने छ ।