शीर्षकहरू

भविष्य छैन भनिएको ईभीले भरिँदै नाडा अटो शो, देखिनेछन् यी नयाँ ब्राण्ड

भविष्य छैन भनिएको ईभीले भरिँदै नाडा अटो शो, देखिनेछन् यी नयाँ ब्राण्ड

काठमाडौं । कोरोनाभन्दा अघि सन् २०१९ को भदौमा भएको नाडा अटो शो त्यसपछिका तीन वर्षसम्म कोभिडका कारण हुन सकेन । गत वर्ष कोरोनापछि पहिलोपटक नाडा अटो शो भिन्नै देखियो । यसअघि प्रदर्शनीमा फाट्टफुट्ट इलेक्ट्रिक गाडी देखिएकोमा गत वर्ष भने बजारमा बलियो प्रभूत्वका साथ देखा परे ।  

नेपालमा विद्युतीय सवारीसाधनको रौनक शुरु भएको धेरै वर्ष भएको छैन । उसो त आजभन्दा २६ वर्षअघि वि.सं. २०५५ देखि नेपालमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण सुरु भए पनि विद्युतीय कार भने भित्रिन सकेको थिएन । २०६७ सालमा पहिलोपटक महिन्द्राले रेभा भित्र्याएसँगै नेपालमा विद्युतीय गाडीको बहस त सुरु भयो तर यसको भविष्य छैन भन्ने भाष्य पनि बन्दै गएको थियो । यद्यपि, त्यो दाबीविपरीत यतिबेला नेपालमा बिजुली गाडीको दबदबा बढेको देखिन्छ । कोरोनापछि भने यसको बजार ह्वात्तै बढेको देखिन्छ ।

गत वर्ष भदौ २६ देखि ३१ गतेसम्म भएको नाडा अटो शो ईभीमय देखियो । उक्त वर्षको नाडामा करिब आधा हिस्सा विद्युतीय गाडीले ‌ओगटेका थिए । प्रदर्शनीमा टाटा, हुण्डाई, बीवाईडी, च्याङ्योङ, सेरेस, ग्रेटवाल, एमजी, किया, च्याङ्योङ, सेरेस, ग्रेटवाल, सिट्रोनले विद्युतीय सवारीसाधन प्रदर्शन गरेका थिए । गत वर्ष टाटाले इलेक्ट्रिक टियागो, बीवाईडीले डल्फिन, एमजीले  एमजी–४ र कोमेट, सोरेसले ईभी सेरेस–३ र ई–१, सिजीले नेटा यू, जीडब्र्लूम नेपालले ओरा ०३ लगयात विद्युतीय सवारी प्रदर्शनीमा उतारेका थिए । अवलोकनकर्ताको ध्यान पनि तिनै विद्युतीय सवारीसाधनले ताने । आकर्षण मात्रै होइन, विद्युतीय सवारीसाधनको बुकिङ पनि अभूतपूर्व देखियो । यसको उदाहरण गत वर्षको बिजुली गाडीको आयात पनि हो । केही वर्षअघिसम्म नेपालमा बिजुली गाडीको भविष्य छैन भन्ने भाष्य रहे पनि गत आर्थिक वर्षमा ११ हजार ७०० विद्युतीय गाडी नेपाल भित्रिए, जुन हालसम्मकै उच्च हो । 

ग्राहकको आकर्षण बढेपछि यस वर्ष पनि नाडा अटो शो ईभीमय हुने भएको छ । नाडाका अनुसार यस वर्ष पेट्रोल–डिजेल इन्जिनबाट चल्नेभन्दा बिजुलीबाट चल्ने गाडीको प्रदर्शनीमा बर्चस्व रहनेछ । यस वर्ष सुजुकीबाहेक प्राय: सबै कम्पनीले विद्युतीय ब्राण्ड प्रदर्शनीमा राख्नेछन् ।

अटो शोमा प्रदर्शन हुने अधिकांश गाडी नेपाल भित्रिसकेका छन् ।  यस वर्ष अटो शोमा टाटा, हुण्डाई, किया, एमजी, , बीवाईडी, सेरेस, स्काईवेल, नेटा, सिट्रोन, हेनरी भोल्ट्स,  ओमडो,  लिपमोटर, रिडारा, अवतार, दीपल, जीकर, न्यू ईभी, सुजुकी, सीएचटीसी, कामा, एसआरएम, गोनो, फोटोन, वलिङ, हेल्मार्व, सोकोन आदि ब्राण्डका विद्युतीय गाडी प्रदर्शनीमा देख्न पाइनेछ ।

अटो शोकै लागि हुन्डाईले आयोनिक-फाइभ र नयाँ क्रेटा फेसलिफ्ट, महिन्द्राले एक्सयूभी ४००, कियाले ईभी-सिक्स र ईभी-नाइन, सिट्रोनले ईसीथ्री मोडल नेपाल भित्राइसकेको छ । टाटाले पञ्च ईभी, डिपलले एल जे सेभेन, बीवाईडीले एम ६, भिनफास्टले भीएफ ५ गाडी अटो शोका लागि भित्र्याएको छ ।

नाडाकै लागि सीजी मोटर्स र एमएडब्लुको संयुक्त लगानीमा भित्र्याइएको ब्राण्ड अवतार ११ पनि ल्याइएको छ । जसको मूल्य १ करोड ४५ लाख रहेको छ । यस्तै जेको जे–६ , सीजीले राडार आरडी ६ र एक्सपेङ, लक्ष्मी इन्टरकन्टिनेन्टलले काई एक्स ३ भित्र्याएको छ । यस्तै जी मोटर्सले स्काईवेब गाडी नाडा अटो शोका लागि भित्र्याउने तयारी गरेको छ ।