शीर्षकहरू

अनुदानको रकम बीमाका लागि छुट्याउन प्राधिकरणका अध्यक्षको आग्रह

अनुदानको रकम बीमाका लागि छुट्याउन प्राधिकरणका अध्यक्षको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरिब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गर्न पर्ने बताएका छन् । आज विराटनगरमा महानगरपालिकासँग भएको छलफल कार्यक्रममा बोल्दै अनुदानले बीमामार्फत लक्षित वर्गलाई दीर्घकालिन रुपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए ।
प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारवाही, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी जानकारी गराएका थिए । 

कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरुलाई मर्का परेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।