शीर्षकहरू

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

एजेन्सी । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन् । 

उनी आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गइसकेकी छिन् । “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने । 

कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्ने वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केही बताएका छैनन । बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । 

“देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो।” वाकरले भने । 

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।