शीर्षकहरू

शेयर बजारको वृद्धि स्वाभाविक छैन, नियामक निकायले ध्यान दिनुपर्छ: पूर्व अर्थमन्त्री

शेयर बजारको वृद्धि स्वाभाविक छैन, नियामक निकायले ध्यान दिनुपर्छ: पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय शेयर बजारमा भइरहेको वृद्धि स्वाभाविक नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

पूर्व अर्थमन्त्री महतले भने, ‘मौद्रिक नीति आउनु अगाडीदेखि नै शेयर बजारमा गति देखिएको छ । तर, जसरी शेयर बजारमा बुलिस ट्रेण्ड देखिएको छ त्यसलाई हामीले सहजरुपमा लिन सक्ने अवस्था अवश्य पनि छैन । त्यहाँ केही चलखेलकर्ताहरूले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको छ ।’  

कतिपय कम्पनीहरूको जसरी शेयर भाउ बढेको छ त्यो स्वाभाविक नभएको उनले जनाए । केही कम्पनीको अवस्था नहेरी शेयर मूल्य तेब्बरसम्म बढाइएकोले यसतर्फ नियामक निकायको ध्यान दिनुपर्ने उनको भनाइ छ ।  

आउने दिनमा आर्थिक गतिविधि बढ्ने बताउँदै उनले अगाडी भने, ‘मौद्रिक नीति कहिले चाहिने भन्दा लचक त कहिले चाहिने भन्दा कसिलो आउने गरेको छ । जसले गर्दा गत समयमा समस्या आएको थियो । म अर्थमन्त्री हुँदा राष्ट्र बैंकसंगको समन्वयमा केही सुधारहरू भए । त्यसले अर्थतन्त्रलाई ट्र्याकमा लैजानका लागि मद्दत गर्‍यो । तर, यथेष्ट सुधार भइसकेको थिएन ।’ 

‘बैंकरेट र पोलिसी रेट घटाउँदैमा ब्याजदरमा कुनै प्रभाव पर्दैन । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता छ । उल्टो राष्ट्र बैंकमा जम्मा गरिरहेको अवस्थामा यसरी घटाउँदैमा ब्याजदर घट्ने देख्दिन’, उनले भने ।

त्यस्तै, उनले नेपालको अर्थतन्त्रलाई सकारात्मक बाटोमा उन्मुख गर्नका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका अपरिहार्य रहेको बताए । मौद्रिक नीति मार्फत निजी क्षेत्रलाई चलायमान गर्ने, कर्जा प्रवाह सुनिश्चित गर्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

राज्यबाट विनियोजन भएको बजेट ठिक ढङ्गबाट परिचालन हुन जरुरी रहेको उनले बताए । यसको गर्न सकिएन भने आर्थिक वृद्धिको जुन कल्पना गरिएको छ त्यो पुरा हुन नसक्ने समेत उनले बताए ।