शीर्षकहरू

मोटर, निर्माण, ढुवानी र कृषि बीमाको व्यवसाय घट्यो

मोटर, निर्माण, ढुवानी र कृषि बीमाको व्यवसाय घट्यो

काठमाडौं । आर्थिक शिथिलताका बीच पनि गत आर्थिक बर्ष २०८०/८१ मा निर्जीवन बीमा व्यवसायमा ३.१२ प्रतिशतले बढ्यो । आव २०७९/८०मा ४० अर्ब २१ करोड २२ लाख रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको थियो । गत आवमा भने त्यो भन्दा १ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बढी अर्थात् ४१ अर्ब ४६ करोड  ६१ लाख रुपैयाँ यस्तो बीमाशुल्क भयो । 

बीमालेखको संख्या पनि सामान्य दरमा बढेको  देखिन्छ । अघिल्लो आवमा २७ लाख ९२ हजार ५१६ वटा पोलिसी बिक्री भएको थियो । गत आवमा त्यो भन्दा ६.६१ प्रतिशत बढी अर्थात् २९ लाख ७ हजार ११६ वटा पोलिसी बिक्री भएको छ । 

केही वर्ष अघिसम्म निर्जीवन बीमा व्यवसाय दोहोरो अंकमै बढ्ने गरेको थियो ।  पछिल्लो पटक आर्थिक बर्ष २०७८÷७९ मा निर्जीवन बीमा व्यवसाय २३.५६ प्रतिशतले बढेको थियो । तर, तर, पछिल्लो २ बर्ष यता यसको बृद्धिदर न्यून छ । अघिल्लो आव २०७९/८० मा निर्जीवन बीमा व्यवसायको बृद्धिदर २.६६ प्रतिशतमा सिमित भयो । आव २०७८/७९ कुल ३९ अर्ब १६ करोड ९९ लाख बराबरको निर्जीवन बीमाशुल्क संकलन भएको थियो । आव २०७९/८० त्यो सामान्य दरमा बढेर ४० अर्ब २१ करोड २२ लाख पुगेको थियो । गत आवमा पनि त्यसमा ३.१२ प्रतिशतको मात्रै वृद्धि दखिएको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले पुष्टी गरेको छ । 

गत आवको सुरुवाती समयमा निर्जीवन बीमा व्यवसाय घट्दो दरमै थियो । तर, आर्थिक बर्षान्तसम्म आउँदा कम्पनीहरुले त्यसलाई बढाउन सफल भएका छन् । हाल नेपालमा १४ ठुला र ४ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवदेखि ४ निर्जीवन लघुबीमा कम्पनी सञ्चालनमा आएका थिए । तर, पनि व्यवसायले उच्च बृद्धि हासिल गर्न नसकेको तथ्यांकले पुष्टी गरेको छ । यद्यपि, आर्थिक शिथिलतामा यत्तिको बृद्धिलाई सकरात्मकनै लिइएको छ । 


तर, गत आवमा निर्जीवन बीमा व्यवसायमा सबै भन्दा बढी हिस्सा राख्ने मोटर, इन्जीनियरीङ तथा ठेक्का, सामुन्द्रिक र कृषि बीमाको व्यवसायमा भने गिरावटन आएको देखिएको छ । तथ्यांकअनुसार गत आवमा कृषि बीमाको व्यवसाय ११.२५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कृषि बीमा मार्फत २ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । गत आवमा त्यो घटेर २ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा सिमित भएको छ । कुल निर्जीवन बीमामा यसको हिस्सा ५ प्रतिशत देखिन्छ । 

यस्तै,  सबै भन्दा धेरै हिस्सा ओगट्ने मोटर बीमाको व्यवसाय पनि ६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा मोटर बीमा मार्फत १३ अर्ब ३० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । गत आवमा भने त्यो १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँमा सिमित भएको देखिन्छ । कुल निर्जीवन बीमा व्यवसायमा यसको हिस्सा ३० प्रतिशत भन्दा बढी छ । 

यस्तै, सामुन्द्रिक (ढुवानी) बीमाको व्यवसाय पनि २ प्रतिशतले घटेको छ । अघिल्लो आवमा यस्तो बीमा मार्फत १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । गत आवमा त्यो १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँमा सिमित भएको छ ।
 
यस्तै, इन्जीनियरीङ तथा ठेक्का बीमाको व्यवसाय पनि १ प्रतिशतले घटेको छ । अघिल्लो आवमा यस मार्फत ७ अर्ब १७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सकलन भएको थियो । गत आवमा त्यो ७ अर्ब १० करोड २५ लाख रुपैयाँमा सिमित भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

कारण के ? 
पछिल्लो समय नेपालको आर्थिक गतिविधि शिथिल अवस्थामा छ, त्यसले निर्जीवन व्यवसाय प्रभावित भएको बताइन्छ । निर्जीवन बीमा व्यवसाय प्रत्यक्ष रुपमा आर्थिक गतिविधिसँग सम्बन्धीत हुन्छ । अधिकांश निर्जीवन बीमा व्यवसाय उद्योग सञ्चालन तथा उद्योग, निर्माण गतिविधि, आयात तथा निर्यात, मोटर व्यवसायमा निर्भर छ ।  तर, आर्थिक शिथिलताले त्यस्ता गतिविधीमा संकुचन आएको छ । त्यसको असर बीमा व्यवसायमा परेको छ । 

हाल नेपालमा देखिएको आर्थिक मन्दीको असर निर्जीवन बीमा कम्पनीमा परेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए । उनले भने, ‘सरकारको पुँजीगत खर्च नै नगन्य मात्रामा रहेकाले इन्जिनिरिङ तथा ठेक्का पठ्ठाको बीमा कम भएको हो । त्यस्तै, अन्य व्यापार नभएकाले आयात निर्यातका कमीको असर सामून्द्रीक बीमा पनि परेको हो ।’

यता, मोटर बीमा पनि विद्युतीय सवारी साधानलाई मात्र सरकारले सहुलियत गरेको हुनाले यसको पनि व्यापार कम भएको उनले बताए । त्यस्तै, शिखर इन्स्योरेन्सका सम्पत्ति बीमा भने बढेको उनले दावी गरे । 

निर्जीवन बीमा सबैभन्दा धेरै हिस्सा सवारी बीमाको हुन्छ । तर, २ वर्ष यता नेपालमा नयाँ गाडीको खरिद बिक्री खस्किएको छ । विदेशी मुद्रा सञ्चितीमा परेको चापलाई दृष्टिगत गर्दै सरकारले २०७९ बैशाखदेखि मंसिरसम्म महंगो सवारी साधानको आयात प्रतिवन्ध लगाएको थियो । २०७९ पुसबाट आयात फुकुवा गरेपनि नेपाली बजारमा सवारी साधानको माग बढ्न सकेको छैन । त्यसका असर मोटर बीमा परेको कम्पनीहरु बताउँछन् । 

नेपाल सवारी साधानको बीमा अनिवार्य रुपमा गर्नुपर्छ । सवारी साधानको खरिद बिक्री बढेको अवस्थामा स्वतः रुपमा मोटर बीमा व्यवसाय बढ्छ । तर, सवारी साधानकै खरिद बिक्री कम भएमा मोटर बीमा पनि प्रभावित हुने कम्पनीहरु बताउँछन् । 

यसैगरि निर्माण सम्बन्धी गतिविधि खस्कीदा पनि इन्जीनियरीङ बीमा प्रभावित भएको बताइन्छ  । पछिल्लो समय निर्माण सामग्रीमा आएको मुल्यबृद्धि र निर्माण कम्पनीको रोकीएको सरकारी भुक्तानी लगायतका  निर्माण गतिविधि सुस्ताएको छ । त्यसको असरले इन्जीनियरीङ बीमा व्यवसाय प्रभावित भएको छ । यसैगरि आयात र निर्यातमा पनि कमी आउँदा ढुवानी बीमा प्रभावित भएको छ ।

यस्तै, सरकारले अनुदानको शोधभर्ना नदिएपछि बीमा कम्पनीहरु कृषि बीमा गर्न हच्कीएका छन् । आन्दोलनका नाममा पटक पटक कृषि बीमाको कारोबार नै बन्द गरियो । गत आवमा पनि चैत १ गतेदेखि जेठ १७ गतेसम्म कृषि बीमाको कारोबार बन्द थियो । साथै, आम किसानहरुको बीमा गर्ने क्षमता पनि घटेको छ । त्यसको असरले पनि कृषि बीमामा ह्रास आएको जानकारवालाहरु बताउँछन् । 


यी हुन् व्यवसाय बढेका पोर्टफोलियो 
गत आवमा केही पोर्टफोलियोको व्यवसाय भने बढेको छ । तथ्यांकअनुसार सम्पत्ति, हवाई, लघु र विविध बीमा व्यवसायमा भने बृद्धि नै देखिएको छ । समिक्षा बर्षमा सम्पत्ति बीमा १५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सम्पत्ति बीमा मार्फत ९ अर्ब ७४ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । अहिले त्यो १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । 

यस्तै, हवाई बीमाको व्यवसाय ३६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा हवाई बीमा मार्फत १ अर्ब ९२ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । गत आवमा त्यो २ अर्ब ६० करोड ७६ लाख रुपैयाँमा पुगेको छ । 

यस्तै, लुघबीमाको व्यवसाय भने ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा यस्तो व्यवसाय ६ करोड ९८ लाख रुपैयाँ मात्रै थियो । गत आवमा त्यो ३१ करोड ३६ लाख रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । नयाँ लघुबीमा कम्पनीहरुको आगमन पनि यसको व्यवसाय बढेको बताइन्छ । 

यस्तै, विविध शिर्षक अन्तरगतका व्यवसाय पनि २.५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा विविध शिर्षकमा भएको बीमामार्फत ४ अर्ब ४० करोड ६८ लाख रुपैयाँ शुल्क उठेको थियो । गत आवमा त्यो ४ अर्ब ५१ करोड ४८ लाख रुपैयाँमा पुगेको छ ।