शीर्षकहरू

विद्युतको तार व्यवस्थापन नहुँदा जोखिम बढ्यो

विद्युतको तार व्यवस्थापन नहुँदा जोखिम बढ्यो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित वडा नं १०, ११, १२ र १३ का क्षेत्रमा विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् । यी क्षेत्रमा सडक विस्तार र नाला निर्माण गर्ने गर्दा विद्युत पोल हटाउने र सार्ने क्रममा तार व्यवस्थापन नगर्दा आवतजावत गर्दा समस्या भएको स्थानीयको भनाइ छ । 
    
शनिबार वडा नं १३ पोर्ताहास्थित वडा कार्यालय नजिकै स्थानीय चित्र कार्की मोटरसाइकलबाट गाईघाट बजारतर्फ आउँदै गर्दा सडकमा खसेको विद्युत्को तारले करेन्ट लागेर घाइते हुन थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका अध्यक्षसमेत रहेका कार्कीको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको रास्वपा त्रियुगा नगरसमितिका अध्यक्ष उत्तम रिजालले बताए ।

त्रिनपा–१२ को डिएमगेट क्षेत्र र शनिमन्दिर क्षेत्रमा झन्डै पाँच सय मिटर सडक खण्डमा विद्युत्का तार छरपस्ट छन् । निवर्तमान वडाअध्यक्ष विक्रम राईले पोलबाट खसाइएका तार व्यवस्थापन नहुँदा यस क्षेत्रका सडकमा हिँड्डुल गर्नसमेत निकै जोखिम बढेको बताए ।

वडा नं १३ को पोर्ताहा, असारी र लक्ष्मीपुर क्षेत्रका सडकमा विद्युत् तार सडकमा छाडिएका छन् । यसकारर्ण  हिँड्डुल गर्न पनि निकै समस्या भएको स्थानीय राजदेव चौधरीको गुनासो छ । चाँडै तार व्यवस्थापन नगरे  नागरिक झनै जोखिममा पर्ने उनले बताए । 

विद्युत् प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख विजयबाबु खत्री भने सडक विस्तार र नाली निर्माण गर्दा विद्युत् पोल सार्नुपर्दा यस्तो समस्या भएको बताउछन।  आफ्नो कार्यालय तार व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरे पनि नेपाल टेलिकम र विभिन्न केवल नेटवर्क कम्पनीले आफ्नो तार व्यवस्थापन नगर्दा समस्या भएको उनको धारणा छ ।